असार २६, काठमाडौ । भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।मंगलबार तय भएको खेलको ४६ ओभर एक बलमा न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा २११ रन बनाएपछि खेलमा वर्षा हुँदा खेल बुधबारका लागि स्थगित भएको थियो ।

बुधबार न्यूजिल्याण्डले २८ रन बनाउँदा तीन विकेट गुमायो । न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २३९ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिए भने केन विलियम्सनले ६७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए भने जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युज्भेन्द्र चाहलले एक(एक विकेट लिए । २४० रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ३ बलमा अलआउट हुँदा २२१ रनमा अलआउट भयो । भारतका टप अर्डका खेलाडीहरु केएल राहुल, रोहित शर्मा र विराट कोहली १–१ रन बनाएर आउट हुँदा पाँच रनको अवस्थामा भारतले तीन विकेट गुमाइसकेको थियो ।

दिनेश कार्तिक पनि ६ रन बनाएर आउट भए । ऋषभ पन्त र हार्दिक पाण्ड्याले ३२–३२ रन जोडे । ९२ रन बनाउँदा ६ विकेट गुमाएको भारतका लागि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले ११६ रनको शतकीय साझेदारी गरेपछि भारतको जितको आशा जागेको थियो । तर, जडेजा ७७ रन बनाएर ट्रेन्ट बोल्टको बलमा केन विलियमसनबाट क्याचआउट हुँदा भारतले २०८ रनमा सातौं विकेट गुमाएको थियो ।धोनीले ५० रनको अर्धशतकीय योगदान दिए पनि खेल जिताउन सकेनन् ।बलिङतर्फ म्याट हेनरीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले २–२ विकेट लिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार