‘मनोजले भारत विरोधी फिल्म बनायो ।’

‘पाकिस्तानको पैसाले बनाएको हो । यो मान्छे आईएसआईको एजेन्ट हो ।’

‘होइन, उसले भारतकै पैसा खाएर फिल्म बनाएको हो ।’

‘यो मान्छे राजावादी हो । यसले राजतन्त्र टिकाउन यस्तो फिल्म बनायो ।’

वृत्तचित्र ‘ग्रेटर नेपाल’ निर्माण हुँदैगर्दै बजारमा यस्ता अनेक हल्ला चलेका थिए । मुलुकमा दोस्रो जनआन्दोलन सकिएर अन्तरिम संविधान बन्दै गर्दा यो वृत्तचित्र प्रदर्शनका लागि तयार भयो ।

निर्देशक मनोज पण्डितले बजारमा चलेका हल्ला सुने मात्रै । कहाँसम्म भने केही परराष्ट्रविदले मनोजलाई हतोत्साहित नै पारे ।

‘हामी अहिले नयाँ संविधान बनाउदैछौं, तपाईं राष्ट्रियताको कुरा उठाएर संविधान निर्माणलाई डिरेल गर्दै हुनुहुन्छ,’ ती परराष्ट्रविदले मनोजलाई सुझाव दिँदै भनेछन्, ‘पहिले संविधान बनाउनुपर्छ । देश विकास हुन्छ अनि मात्रै राष्ट्रियताको कुरा गर्नु पर्छ ।’

मनोजलाई उनीहरुको कुरा चित्त बुझेन ।

‘तपाईंहरुले बनाउने संविधान नेपालको कति वर्ग किलोमिटरका लागि ?’ मनोजले सोधे ।

परराष्ट्रविदले केही जवाफ दिएनन् । ‘राष्ट्रियताको संवर्द्धनबिना मुलुकको विकास सम्भव छ ?’ भनेर उनले धेरैलाई सोधे तर जवाफ कसैले दिएन । बरु, उनलाई अर्को आरोप लाग्यो, ‘नेपाल र भारतबीचको सम्बन्ध खलबल्याएर शान्ति प्रक्रिया भाँड्न खोज्दैछ ।’

आमाको सिक्री

‘ग्रेटर नेपाल’ बनाउन मनोजले आमाको सिक्री बेचेका थिए, जसको मार्मिक कथा छ ।

यो १५ वर्षअघिको प्रसंग हो । पहिलो कथानक चलचित्र ‘लक्ष्य’ बनाउँदा उनले नमिठो अनुभव गर्नुपरेको थियो ।

‘आलकाँचा केटाहरुले फिल्म बनाएका रहेछन् । गीत पनि अंग्रेजी राखेका छन् रे । बजारमा के चल्छ ? ती ठेट्नालाई के थाहा ।’ भन्नेहरुको मुख थुन्न कहाँ सकिन्थ्यो र !

मनोजले चलचित्र ‘लक्ष्य’ बनाइरहँदा आफूलाई मुलधारका दाबी गर्ने निर्माता-निर्देशक यस्तै-यस्तै टिप्पणी गर्थे । ‘लक्ष्य’मा उत्तम प्रधानबाहेक सबै नयाँ कलाकार थिए । नयाँ कलाकारलाई काम गराउने हिम्मत धेरै निर्देशकमा थिएन, त्यतिबेला । सोही कारण कसै-कसैको टिप्पणी हुन्थ्यो, ‘फिल्ममा भएका केटाकेटी पनि को हुन्, थाहा छैन । यी पानीका फोका हुन्, आज आउँछन् भोलि बिलाउँछन् ।’

मनोज नेपालमै फिल्म पढ्ने पहिलो ब्याचका विद्यार्थी । तन्नेरी उमेर, भर्खर फिल्म पढेको । अनि, यादव खरेलको फिल्ममा सहायक भएर काम गरेकाले एकखालको जोश थियो । उनी जोस्सिएको थाहा पाएका पुराना पुस्ताका कलाकर्मी भने बढी चिढिएका थिए ।

पाँच वटा गीत, पाँच वटा फाइट राखेर निश्चित फम्र्याटमा फिल्म बनिरहेको बेला मनोजले केही फरक शैली अपनाएका थिए ।

आमाले हठी छोराको अगाडि नाईं भन्न सकिनन् । गलामा लाइरहेको सिक्री झिकेर दिइन् । सुन पसलमा सिक्री जोखेपछि २५ हजार नगद हात लाग्यो ।

फिल्म निर्माणअघि मनोजले गरेको ‘वर्कसप’ पनि धेरैलाई मन परेको थिएन । ‘नाप्यो वर्कसप गरेर’ भन्ने टिप्पणी हुन्थ्यो । आफ्नाबारेमा गरिएका यस्ता टिप्पणीलाई उनले बालै दिएनन् ।

फिल्म बन्यो । वितरक किन्न आए । २८ लाख रुपैयाँमा बनेको फिल्मलाई वितरकले २२ लाख रुपैयाँ दिए । वितरकले २२ लाख दिनुको अर्थ हो, फिल्मले लगानी मज्जाले उठाउँछ भन्ने विश्व्ाास । तर, निर्माताले बेच्न मानेनन् ।

आफ्नो सम्पत्तिको तजबिजी आफैंले गर्ने निर्णय गरे । उनलाई थाहा थिएन, नेपालमा फिल्मको भविष्य वितरकको हातमा हुन्छ । २२ लाख मोलमोलाइ भएको फिल्मले तीन लाख रुपैयाँ पनि उठाउने हैसियत राखेन । पानीका फोका भन्नेहरुका लागि फिल्मको कमजोर व्यापार काफी थियो ।

‘चुरीफुरी धेरै गर्ने’ निर्देशकको फिल्म डुबेकामा एकथरि निर्माता उत्साहित थिए । मनोजलाई भने पीर पर्‍यो ।

‘फिल्म असफल भएपछि निर्देशकलाई सबैभन्दा ठूलो ‘आइडेन्टिटी क्राइसिस’ हुन्छ । मलाई त्यही भयो,’ मनोज भन्छन् ।

खासमा, मनोज नेपाली चलचित्रका मानक भत्काउन चाहन्थे । ‘लक्ष्य’मा छनोट भएका कलाकार, कथ्य शैली, वर्कसप पनि तत्कालीन समयको विद्रोहको एउटा रुप थियो ।

‘निर्देशन ठट्टा होइन । समाज, साहित्य र मनोविज्ञान बुझेपछि मात्रै निर्देशक बनिन्छ,’ उनी भन्छन् ।

फिल्म फ्लप भए पनि उनीभित्र विद्रोहको राप बाँकी नै थियो । विद्रोहलाई आकार दिन फेरि अर्को फिल्म बनाउने सोचमा उनी पुगे । ‘म फेरि अर्को फिल्म बनाउँछु, अलिकति पैसा चाहियो,’ एक दिन आमासँग उनले खुसुक्क भने ।

आमासँग पैसा थिएन । हठी छोराको अगाडि नाईं भन्न सकिनन् । गलामा लाइरहेको सिक्री झिकेर दिइन् । सुन पसलमा सिक्री जोखेपछि २५ हजार नगद हात लाग्यो । लक्ष्यकै नायक मनोज आरसीले बाँकी पैसाको जोहो गरे । अनि, सुरु भयो, ‘ग्रेटर नेपाल’को निर्माण ।

टेपको रक्षक माओवादी

‘ग्रेटर नेपाल’को सुटिङ हुँदा माओवादी विद्रोह जारी थियो । जुनसुकै क्षेत्रमा सुटिङ गर्न सहज थिएन । मनोजले सोचे- राष्ट्रिय स्वाधिनताका लागि काम गर्दा माओवादीले पक्कै अवरोध नगर्लान् ।

कालापानीमा सुटिङ गर्न निकै गार्‍हो थियो । बाटो पनि निकै अप्ठ्यारो । नेपालकै भूभागमा जान पनि भारतको पास लिनुपर्ने । निर्देशक र नायक मनोज आरसीलगायतको टोली कालापानी जाँदै थियो । थाङरु भन्ने ठाउँमा पुगेपछि उनीहरुको जम्काभेट माओवादीहरुसँग भयो ।

त्यहाँ माओवादी क्याम्प रहेछ । क्यामेरा बोकेको टोलीलाई देख्नेबित्तिकै उनीहरुले सुरुमा सुराकीको आशंका गरे । छापामारहरुले सोधपुछ गरे, दिनभरि युनिटलाई त्यहीं राखियो ।

साँझपख ‘जेम्स’ नाम गरेका स्थानीय नेता आए, घोडा चढेर । माओवादीको तल्लो तहमा राष्ट्रियताको बहस निकै चर्को स्वरमा हुने गरेको रहेछ । मनोजले आफूहरु राष्ट्रिय स्वाधिनताकै पक्षमा वृत्तचित्र बनाउन आएको स्पष्ट पारे ।

अनि त, साँझको खाना भेडाको मासुसहित आइपुग्यो । कालापानीमा सुटिङ गर्दा कमरेड जेम्स पनि उनीसँगै गए, सहयोग गरे ।

‘राष्ट्रियताको सन्दर्भमा मेरो कुराले उनीहरुलाई छोएको रहेछ निकै खुसी भए,’ मनोज भन्छन् ।

कालापानीको दृश्य खिचिरहेको बेलामा उनीहरुलाई स्थानीयवासीले भनेका थिए, ‘तपाईंहरु आएको/गएको भारतीय सेनाले दुरबिनले हेरिरहेको छ, जतिसक्दो छिटो यहाँबाट भाग्नुस् ।’

फर्किनु त थियो नै, काम पनि सक्नुपर्ने थियो । मौसमले राम्रै साथ दियो । एंगल मिलाई-मिलाई खिचे ।

‘खिच्न त खिच्यौं तर खिचेको टेप कसरी जोगाउने भन्ने अर्को चिन्ता भयो,’ मनोज भन्छन् ।

त्यस्तो बेला जेम्सले ‘टेप मलाई दिनुस् र तपाईंहरु जानुस्, म तपाईंहरुलाई टेप उपलब्ध गराइदिन्छु’ भनेछन् । मनोजले जेम्सलाई राम्ररी चिनेका थिएनन्, तैपनि उनलाई विश्वास गर्नुबाहेक अर्को विकल्प पनि थिएन ।

जेम्सलाई टेप दिएर पण्डितको समूह अगाडि बढ्यो । उनीहरुले अर्को चलाखी पनि गरे । ठाउँ-ठाउँमा ‘लक्ष्य लक्ष्य’ भन्दै कराउँथे । मनोज नाच्थे र चिच्याउँथे । छाङ्ग्रुनजिकै भारत-चीन सीमामा पुगेपछि भारतीय प्रहरीसँग उनीहरुको भेट भयो ।

‘कहाँ, कसरी, किन ?’ प्रहरीले सोध्दै गए ।

‘हामी म्युजिक भिडियो खिच्न आको,’ उनीहरुले जवाफ दिए ।

‘भिडियो देखा,’ प्रहरीले भने ।

उनीहरुले त्यही भिडियो देखाए, जसमा ‘लक्ष्य’को गीतमा मनोज नाचेका थिए ।

त्यहीं रहेछन्, एक जना गोर्खाली सेना । उनले मनोज आरसीलाई देखेपछि भने, ‘उहाँ त हिरो हो, मैले फिल्म हेरेको छु ।’

गोर्खाली सेनाको कुरो सुनेपछि उनीहरुलाई थप राहत मिल्यो । सीमाका सुरक्षाकर्मीले स-सम्मान विदा गरे । त्यसपछि उनीहरु भारतको बाटो हुँदै धार्चुला पुगेर बास बसे ।

बास बसेकै ठाउँमा नेपाल प्रहरी आइपुग्यो । डीएसपीको नेतृत्वमा आएको प्रहरीले भने, ‘तपाईंहरु यहाँ आएको कुरा पारि सबै थाहा भइसक्यो । तपाईंहरु जतिसक्दो चाँडो जानोस् ।’

आफू कसरी पुग्नेभन्दा पनि टेप कसरी जोगाउने भन्ने चिन्ता थियो, उनीहरुमा । अघिल्लो दिन विद्रोही नेता जेम्सले धार्चुलासम्म ल्याइदिएको टेप भोलिपल्ट डीएसपीको हातमा दिए र पण्डितको टोली अगाडि बढ्यो । तिनै डीएसपीले भोलिपल्ट टनकपुरसम्म टेप ल्याइदिए ।

पुरस्कार राति नै रद्द

अनेक जोखिम मोलेर उनले ‘ग्रेटर नेपाल’ बनाए । उनले सबैबाट स्याबासी पनि पाए । तर, उनलाई हतोत्साहित गर्ने चलखेल रोकिएन ।

चलचित्र विकास बोर्डको अध्यक्षमा माओवादीका ईश्वरचन्द्र ज्ञवाली थिए । चलचित्र दिवसको अवसर पारेर राष्ट्रियताको संवर्द्धन गरेको बताउँदै ‘ग्रेटर नेपाल’लाई पुरस्कृत गरियो । मनोजलाई दुई लाखको चेक पनि दिइयो । अर्को दिन स्वर्ण पदक वितरणको कार्यक्रम थियो । विशेष समारोहमा प्रधानमन्त्रीले नै पदक प्रदान गर्ने कार्यक्रम थियो ।

अघिल्लो दिन चेक बुझेका मनोज भोलिपल्ट स्वर्ण पदक लिन सभागृह गए । सबैको नाम आयो, उनको आएन । पछि थाहा भो, ‘ग्रेटर नेपाल’को नाम त राति नै काटिएछ ।

‘ग्रेटर नेपाल’ कतिलाई मनपर्‍यो, कतिलाई मन परेन । पछिल्लो समय युवा पुस्ताले अत्यधिक मन पराएको वृत्तचित्रको रुपमा यो सुरक्षित छ । चार लाखमा बनेको वृत्तचित्रले नेपालबाट मात्रै २८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

प्रचण्डको ‘राष्ट्रवाद’

‘ग्रेटर नेपाल’को निर्माण हुँदाकै प्रसंग हो । बुद्धनगरस्थित माओवादी पार्टी कार्यालयमा सात दलको बैठक चलिरहेको थियो । उता, सुस्तामा सीमा मिचिएको विषयले चर्चा पाएको थियो । सीमा मिचिएको कुरा काठमाडौंलाई सुनाउन सुस्तापीडितमध्ये केही व्यक्ति काठमाडौं आएका थिए ।

‘ग्रेटर नेपाल’ बनाउने क्रममै सिमानामा हेपिएकाहरुसँग मनोजको दोस्ती बढेको थियो । सुस्ता अतिक्रमणका पीडितलाई मनोजले सात दलको बैठकस्थलमै पुर्‍याइदिए । भित्र बैठक चलिरहेको थियो, बाहिर पीडितहरुको धर्ना थियो ।

सुस्ता अतिक्रमणबारे प्रचण्डले भनेछन्, ‘खुल्ला सिमाना भएको ठाउँमा १/२ रोपनी जग्गा यताउता पर्नु सामान्य हो यसलाई विवादको विषय बनाउनु हुन्न ।’

‘सात दलका नेता यहीं हुनुहुन्छ । सुस्ता अतिक्रमणविरुद्ध ठोस निर्णय नभएसम्म हामी जान्नम्,’ सुस्तावासीले समस्या सुनाए ।

बैठक सकिएपछि क्रमशः नेताहरु बाहिर निस्किए । माओवादी अध्यक्ष प्रचण्ड सबैभन्दा पहिले बोले । विद्रोह गरेर आएका र जनयुद्धमा सीमा जोगाउन सुरुङयुद्धकै हुङ्कार गरेर नेता प्रचण्डले पक्कै सुस्ता अतिक्रमणविरुद्ध केही बोल्लान् भन्ने पीडितहरुलाई लागेको थियो । तर, प्रचण्डको राष्ट्रियताप्रतिको विद्रोहकालीन अडान लुलो भइसकेको रहेछ ।

‘खुल्ला सिमाना भएको ठाउँमा १/२ रोपनी जग्गा यताउता पर्नु सामान्य हो, यसलाई विवादको विषय बनाउनु हुन्न,’ प्रचण्डले भने ।

सद्भावना नेतृ सरिता गिरी पनि थिइन् । उनले त झन् ठाडै हकारिन् ‘तपाईंहरु सिमानाको कुरा गरेर राजनीति गर्दै हुनुहुन्छ ।’

डा. बाबुराम भट्टराईले त सीमाको विषयलाई वास्तै गरेनन् ।

‘संविधान बन्ने बेलामा सीमाको कुरा उठाएर नेपाल र भारतबीच तनाव सिर्जना नगर्नुस्,’ उनले भने ।

सीमा रक्षाका विषयमा अरु थुप्रै काम गर्ने योजना बनाएर काठमाडौं पुगेका सुस्तावासी त्यही दिन फर्किए ।

‘यो पुस्ताबाट सीमा रक्षा हुन्छ भन्ने विश्वास छैन,’ मनोज भन्छन्, ‘कांग्रेसका नेता रामचन्द्र पौडेल, एमाले नेता माधव नेपाललगायत अरु धेरै थिए । ती कसैले पनि चासो दिएनन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार