जेठ ०८, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल’ले सदन समक्ष पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाको विषयमा अनुसन्धान भइरहेको जवाफ दिएका छन् ।राष्ट्रिय सभाको बुधवारको बैठकमा गृहमन्त्री थापाले पाँचथरको मिक्लाजुङ ३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको घटनाको अनुसन्धान भइरहेको बताएका हुन् ।

गृहमन्त्री थापाले बैठकमा त्यस विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले त्यस हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गरेका छन्  । गृहमन्त्री थापाले घटनामा हत्या गरिएका नौ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमर्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिए ।

पाँचथरको मिक्लाजुङ- ३ का बमबहादुर फियाक र धनराज शेर्मको परिवारका ९ जनाको सोमवार राति विभत्स हत्या भएको थियो । फियाक र शेर्मा नाताले ज्वाइँरससुरा हुन् ।बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिम मिक्लाजुङ- ८ मा झुण्डिएको अवस्थामा फेला परेका थिए ।घटनामा माखिमकै संलग्नता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम खुल्न नसकेकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।यसैबीच बमबहादुरका कान्छा छोरीज्वाँई मानबहादुर माखिम सामूहिक हत्या गरिएको स्थानबाट झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । गृहमन्त्री थापाले माखिमको साथबाट एक थान खुकुरी फेला परेको बताएका छन् ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले घटना पारिवारिक कलहसँग सम्बन्धित छ भन्ने कुरा आएको र अनुसन्धान जारी रहेको समेत जानकारी दिएका छन् ।घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको छ । त्यस घटनामा भागेर बाँच्न सफल १२ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भैरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार