साउन १४, नवलपरासी । कनिष्ठलाई पार्टीको जिल्ला सभापति बनाउन चलखेल गरेको भन्दै कांग्रेसका केही जिल्ला नेताहरू केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलसँग रुष्ट छन् । सुभाष गिरीलाई सभापति बनाउन कँडेलले लबिइङ थालेको गुनासो जिल्लाका नेता कार्यकर्ताको छ । पश्चिम नवलपरासीका कांग्रेस कार्यवाहक सभापति अर्जुनप्रसाद पोखरेलले हाल पार्टीको जिल्ला नेतृत्व सम्हालेका छन् । उनी तीन वर्षअघि नवलपरासी कांग्रेसको जिल्ला अधिवेशनपछि मनोनीत उपसभापति बनाइएका थिए । संघीयता कार्यान्वयनसँगै नवलपरासी दुई जिल्लामा विभाजन भयो । उक्त विभाजनपछि पार्टी सभापति विष्णु लामिछानेले पूर्वी नवलपरासीको नेतृत्व रोजेपछि पोखरेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

लोकतान्त्रिक फोरममा रहेका गिरी गत निर्वाचनपछि पार्टी एकीकरण भएर विजयकुमार गच्छदारसँगै कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवानिकट मानिने कँडेल र अर्का नेता पूर्वसांसद देवकरणप्रसाद जयसवालबीच मनमुटाव छ । जिल्ला नेतृत्व छनोटमा यिनै दुईको प्रभावशाली भूमिका हुने गरेको छ । कँडेलले पार्टी सभापति हुन कांग्रेसको महाधिवेशन सदस्य हुनुपर्ने प्रावधानको बुँदामा टेकेर गिरीलाई सभापति बनाउन खोजेको अवस्था छ । कार्यवाहक सभापति पोखरेल महासमिति सदस्य होइनन् । यसअघि कँडेल जिल्ला सभापति हुँदा पनि पोखरेल मनोनीत जिल्ला सचिव थिए । दोस्रोपटक विष्णु लामिछाने जिल्ला सभापतिमा निवाचित भएपछि कँडेलले नै पोखरेललाई उपसभापति मनोनयन गरेका थिए । पोखरेल भने आफू कार्यवाहक भएकाले पुरै समय सभापतिको जिम्मेवारी पाउनुपर्ने वा नयाँ जिल्ला अधिवेशन गर्नुपर्ने अडानमा छन् ।

पोखरेलसहितको टोलीले आइतबार काठमाडौंमा केन्द्रीय सभापति देउवालाई भेटेर जिल्लाको अवस्थाबारे जानकारी गराएका छन् । कँडेलको गतिविधिले पार्टीको साखमा असर पर्ने चेतावनी दिएको उक्त टोली सदस्य कुलदीप आचार्यले बताए । ‘सभापतिले पश्चिम नवलपरासीमा पार्टी बहुमत कार्यकर्ता भावना र विधानअनुसार चल्ने आश्वासन दिनुभयो,’ उनले भने ।उता नेता कँडेल भने आफूले सहमतिको राजनीतिमा जोड दिँदै आएको बताउँछन् । पोखरेल महाधिवेशन प्रतिनिधि नभएकाले वैकल्पिक बाटो खोजौं भनेको दाबी गरे । ‘उनलाई केहीले उचालेकाले समस्या आएको हो,’ उनले भने ।आफू विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने पक्षमा रहेको उनले बताए । ‘कसैलाई ल्याउन चाहेको कुरा बखेडा मात्रै हो,’ उनले भने, ‘मैले नै अर्जुन पोखरेललाई कार्यवाहक सभापति बनाएको हो ।’ कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार