वैशाख १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि नेपालीले खान नपाएर मगन्ते भई सडकमा हिँड्नु नपर्ने बताएका छन् । आइतबार राष्ट्रिय योजना आयोगको बैठकमा अध्यक्षता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो कुरा बताएका हुन् । उनले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् ।

ओलीले आगामी पन्ध्रौं योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गरे । यसका लागि उनले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने बताएका छन् ।ओलीले भने, ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ अगाडि बढेका छौं । त्यसैले अब कोही पनि भोका रहने छैनन् । केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।’ ‘हामी फरक ढंगले सामाजिक प्रबन्ध गरिरहेका छौं । समाज स्वतन्त्र छ तर यहाँ मर्ने स्वतन्त्रता छैन । अब हामी दोहोरो अंकमा आर्थिक वृद्धिदर गराउनेछौं ।’

हाल निरपेक्ष गरीबीको प्रतिशत घटाउन सरकारले ठूला आकांक्षा र महत्वाकांक्षाका साथ काम गरिरहेकाले सबै निकाय र क्षेत्रले सोहीअनुसार गति बढाउनुपर्नेमा पनि ओलीले जोड दिएका छन् । ओलीले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा निकै सुधार आएको र जमीन बाँझो राख्ने परम्परा अन्त्य हुन थालेको जनाउँदै संरचना र कानूनी आधार तयार भए पनि नयाँ प्रणाली भएकाले गतिशील भएर अगाडि जान केही समस्या देखिएको स्वीकार समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले चुनढुंगा उत्खनन गरेर सिमेन्टमा आत्मनिर्भर भई भारत र बंगलादेशमा निर्यात गर्न सकिने तथा अन्य मुलुकका निर्यात गर्न सकिने धेरै सामग्री उत्पादनको आधार तयार गर्न सकिने बताउँदै भने, ‘जमिनको हदबन्दीमा लचिलो भएर हरेक क्षेत्र र भूगोललाई उत्पादनमुखी र व्यावसयिक बनाउँदै नेपाललाई स्वाधीन र समृद्ध बनाइनेछ ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार