साउन २०, काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ । पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई चार लेन बनाउन लागिएको हो । पोखरा–मुग्लिनको दुरी ९० किलोमिटर छ । पहिलो चरणमा पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड विस्तार गर्ने तयारी भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । उनका अनुसार राजमार्गमा पर्ने तीनवटा ठूला आकारका पुल पनि विस्तार हुनेछन् । तनहुँको दमौली, पोखराको विजयपुर र पृथ्वीचोकको पुल ठूलो आकारमा बन्ने उनले बताए । ती पुल कमजोर बन्दै गएका छन् । विजयपुरको पुल कमजोर भएर १० टनभन्दा बढी भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।

यो पनि पढ्नुहोस.. उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको ट्र्याक खोल्न ढिलाइ हुँदा योजना प्रभावित- उच्च आर्थिक एवं व्यापारिक महत्वको उत्तर–दक्षिण व्यापारिक मार्ग कोसी करिडोरको १४ किलोमिटर ट्र्याक खोल्न ढिलाइ हुँदा समग्र योजना नै प्रभावित बनेको छ । पछिल्लो आठ महिनायता ट्र्याक खोल्ने कार्यमा कुनै प्रगति देखिएको छैन । उत्तर–दक्षिण व्यापारिक राजमार्ग आयोजनाका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन र विस्फोटक पदार्थ (जिलेटिन)को आपूर्ति तथा बङ्कर निर्माणमा ढिलाइ हुँदा ट्र्याक खोल्ने कार्य अवरुद्ध बनेको हो । आयोजना प्रमुख शिव नेपालले कुल ३९० किलोमिटरको कोसी करिडोरअन्तर्गत विराटनगरको रानीदेखि खाँदबारीसम्मको २२८ किलोमिटर सडक विभिन्न चरणमा निर्माण भइसकेको बताए । करिडोर निर्माण भएपछि ३९० किलोमिटर दूरीले दुई विशाल छिमेकी चीन र भारतलाई जोड्ने छ । उत्तर दक्षिण व्यापारिक मार्गअन्तर्गत कोसी करिडोर निर्माण आयोजना राष्ट्रिय गौरवको आयोजना हो । कोसी करिडोरलाई हिमाल, पहाड र तराई मधेस जोड्ने आर्थिक समृद्धिको एक महत्वपूर्ण मार्गका रूपमा हेरिन्छ । करिडोरले मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम हुँदै सङ्खुवासभा जिल्लालाई जोड्ने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार