पशुपतिको सुन ‘गायब’ : ५६ वर्षमा जम्मा ९ किलो

जेठ २३, काठमाडौं । धर्म हुने भन्दै पशुपतिनाथमा सुन चढाउन चाहने धेरै हुन्छन्। चढाउँछन् पनि। तर, त्यही सुन अभिलेखमा नराखी गायब पार्ने पनि हुँदा रहेछन्। पशुपतिनाथ मन्दिरमा ५६ वर्ष अवधिमा चढाएको सुन जम्मा ९ किलो पाइएको छ। २०४५ देखि २०५२ सम्म चढाइएको सुनको विवरण अभिलेखमा छैन। २०३५, २०३६, २०४२, २०४३, २०४४, २०५३, २०६० र २०६३ को सुन पनि अभिलेखमा छैन।

‘मिति उल्लेख छ, तर सुनको विवरण छैन’, एक कर्मचारीले अन्नपूर्णसँग भने, ‘यो सुन ढुकुटीमा नराखी गायब बनाइएको अनुमान सहजै गर्न सकिन्छ।’ उनका अनुसार मुचुल्का देखियो, लगत प्राप्त भयो तर सुनको मात्रा खुलाइएको छैन। सुन मूल ढुकुटीमा राख्ने गरिन्छ। त्यसमा लेखिएजति छ÷छैन पनि खुल्दैन। सर्वोच्च अदालतको २०६६ पुस २७ को परमादेशका कारण यसलाई खोलेर हेर्न मिल्दैन।

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले बुधबार पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाललाई बुझाएको प्रतिवेदनमा मुचुल्का भए पनि सुन नभएको देखिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा गठन गरेको उक्त समितिले ६२४ पृष्ठको प्रतिवेदन तयार पारेको छ। त्यसमा पशुपतिको सुनलगायत चल–अचल सम्पत्ति ठूलो मात्रामा यताउता पारिएको देखाइएको छ।

समितिले खोजमा २०२० मंसिर ५ गते पहिलोपटक पशुपतिनाथलाई सुन चढाइएको अभिलेख भेट्टाएको छ। पहिलोपटक ३ तोला ३ मासा ७ लाल सुन अर्पण गरिएको थियो। यसलगत्तै मंसिर १५ गते ९ तोला ८ मासा ९ लाल सुन मन्दिरमा चढाइएको थियो। यसपछि २०२१ देखि २०२६ सालसम्म कसैले पनि पशुपतिनाथमा सुन चढाएको अभिलेख नदेखिएको संयोजक थापाले जानकारी दिए। प्रतिवेदनअनुसार पशुपतिनाथमा जम्माजम्मी ९ किलो २७६.६४ ग्राम सुन रहेको पाइएको छ। त्यो २०१९ सालदेखि २०७५ सालसम्ममा भक्तजनले चढाएर विवरणमा राखिएको मात्र हो। त्यस्तै ३ सय १६ किलो ५८६ ग्राम चाँदी पाइएको छ। संयोजक थापाले पशुपतिनाथको मूल ढुकुटीमा रहेको अभिलेखका आधारमा खोजी गरिएको बताए।

थापाका अनुसार पशुपतिनाथ भण्डार तहविलबाट प्राप्त तायदाती मुचुल्का अनुसार २०१९ देखि २०६८ सालसम्म आठ किलो २३२ ग्राम सुन र एक सय ७५ किलो ४५८ ग्राम चाँदी मूल ढुकुटीमा दाखिला भएको देखिएको थियो। प्रतिवेदनमा २०६८ चैतमा पशुपति क्षेत्र विकास कोष ऐन र नियमावली आएपछि सुन र चाँदी थपिएको देखिएको छ। जसअनुसार २०५९ देखि २०७५ सम्म कोषको सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणमा एक हजार ४४.६४ ग्राम सुन र एक लाख ४१ हजार एक सय २८.७५ ग्राम चाँदी थपिएको हो।

कोषका पूर्वकोषाध्यक्ष गणेश अधिकारीले विगतमा पशुपतिनाथको वार्षिक आम्दानीबाट सुन किन्ने तर अभिलेख नराख्ने प्रवृत्ति पनि देखिएकाले सुन कहाँ गयो भनेर प्रश्न उठाउन सक्ने ठाउँ रहेको बताए। उनले भने, ‘कोष स्थापनाकाल (२०४३ साल) का सदस्यसचिव वसन्त चौधरीले पनि सुन चढाउने तर पूर्ण रूपमा अभिलेख नराख्ने कारण ठ्याक्कै तथ्यांक नहुने आशंका गर्नुभएको थियो।’ अधिकारीका अनुसार बाला चतुदर्शीका दिन वर्षभरिको रकमबाट सुन किन्ने चलन थियो। उनले भने, ‘मन्दिरको मूल ढुकुटी खोल्न नपाइने सर्वोच्चको आदेशले पनि गरगहना र सम्पत्तिको यकिन गर्न समस्या छ।’

कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले पनि वर्षभरिको भेटी जम्मा पारी सुन किन्ने चलन रहेको तर त्यसको तथ्यांक चुस्तदुरुस्त राखिएको भन्नेमा ग्यारेन्टी नदेखिएको बताए। उनले भने, ‘२०६८ सालअघि सुन चढाए पनि दर्ता गराइहाल्ने चलन देखिँदैन। यसरी चढाए भन्ने हुन्थ्यो केही पछि दर्ता गरेको पनि देखियो, केही नगरेको पनि हुनसक्छ।’ कोषका एक सदस्यले सुनको चुस्त अभिलेख नभएकाले शंका गर्ने ठाउँ भएको दाबी गरे। इतिहासविद् डा. सुरेन्द्र केसीले लोकतन्त्र आए पनि आयव्ययमा पशुपतिनाथमा अझै पनि सबै विषयको पारदर्शिता नदेखिएको बताए। संयोजक थापाले छानबिन समितिले एक वर्ष लगाएर गरेको अध्ययन कम्तीमा पाँच वर्ष लगाएरमात्र पूर्णता हुने बताए। उनले भने, ‘खासगरी २०६८ सालमा ऐन र नियमावली बन्नुअघि सुन र सम्पत्तिको विषयमा जति दाखिला छ त्यो पूर्ण छैन भन्ने देखिन्छ, यसको गहन छानबिन गर्नैपर्छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार