नुवाकोट जिल्ला

नेपालको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल अर्न्तगत राजधानी काठमाडौंको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो नुवाकोट ।
नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रूपमा पुर्ब-पश्चिम फैलिएर रहेको छ। यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरू लगाएतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ। नेपालको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५’ देखि २८२०’ उत्तरी अक्षांशसम्म र ८५०’ देखि ८५४५’ पुर्बी देशान्तरसम्मको फैलावटमा रहेको छ। समुद्रसतहबाट न्युनतम ४५७’ मिटरदेखि अधिकतम ५१४४’ मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ।

नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म “पश्चिम १ नम्बर” अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ। नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ।

प्रचुर सम्भावनाको केन्द्र

हिन्दुहरुको धार्मीक स्थलको रुपमा पहिचान भएको रसुवाको गोसाइकुण्ड जाने मुल मार्गको रुपमा रहेको नुवाकोट नौ वटा कोट मिलेर बनेको जिल्लापनि हो । त्रिशुली, तादी, छत्रेखोला र अन्य सानातिना खोलाहरुले नुवाकोटको खेतीयोग्य भूमिमा सिचाइ भएको छ । रसुवा जिल्लाको गोसाईकुण्ड बाट उदगम भएको त्रिशुली नदीले नुवाकोटमा ३ ठाउमा विद्युत उत्पादन समेत गरेको छ । शिखरबेसीको धान नुवाकोट जिल्लाको प्रख्यात मानिन्छ । शमुन्द्रटार, खरानीटार, बरटार र गेर्खुटार जस्ता उर्बरा भूमी भएका ठाउ हो भने नुवाकोट जिल्लाको थानसिङ, जिलिङ, खड्कभञ्ज्याङ जस्ता डाडाकाडा रमणिय स्थल मानिन्छन ।

लोडसेडिङमुक्त जिल्ला
नुवाकोट जिल्लाले मुलुकको जलविद्युत् उत्पादनमा पनि अहम् भूमिका निर्वाह गरिरहेको छ भने सम्भावना पनि उत्तिकै बोकेको छ । हाल सञ्चालनमा रहेका त्रिशूली, देवीघाट र आदिशक्ति जलविद्युत् आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन भइरहेको अवस्थालाई मध्यनजर गर्दा पनि जलविद्युत् उत्पादनका लागि यो उपयुक्त स्थान मान्न सकिन्छ । जिल्लालाई लोडसेडिङमुक्त घोषणासमेत गरिएको छ । यस जिल्लाका प्रायः हरेक भागमा विद्युतीकरण भएको छ । यसकारण नेपालमा लोडसेडिङका कारण उद्योगधन्दा फस्टाउन नसकिरहेको अवस्थामा यस जिल्लामा विभिन्न स्तरका उत्पादन तथा प्रशोधन उद्योग सञ्चालनको पनि राम्रो सम्भावना छ ।

व्यापारिक सम्भावना
सीमावर्ती रसुवा जिल्लामा हालै खुलेको चीन–नेपाल भन्सार नाका केरुङलाई राजधानीसँग जोड्ने जिल्ला पनि भएकाले यो नेपालको एक प्रमुख व्यापारिक मार्गको रूपमा पनि विकास हुने देखिन्छ । यसलाई ध्यानमा राख्दै नुवाकोटमा औद्योगिक केन्द्र विकास गर्न सकिन्छ । यसलाई सामरिक र व्यापारिक ‘ट्रान्जिट प्वाइन्ट’ को रूपमा पनि विकास गर्न सकिने सम्भावना छ ।

प्रचुर धार्मिक पर्यटकिय सम्भाबना

नुवाकोट दरबारपरिसरस्थित भैरवी मन्दिर, तलेजु मन्दिर, राउतबेशीको दुप्चेश्वर महादेव, देवीघाटस्थित जालपादेवी मन्दिर, कविलासको नाट्येश्वर महादेव मन्दिर, समुन्द्रादेवी मन्दिर आदि जिल्लाका प्रमुख धार्मिक तीर्थस्थल हुन् जसको प्रचुर धार्मिक पर्यटकिय सम्भाबना देखिन्छ । ।

सिन्दूर जात्रा
जिल्लाकै प्रमुख धार्मिक तीर्थस्थल मानिने देवीघाटको जालपा र नुवाकोटको भैरवी मन्दिरमा हरेक वर्ष चैत्र शुक्लपूर्णिमाका दिन मेला लाग्ने गर्छ । चतुर्दशीका दिन भैरवी मन्दिर र गुह्य पाटीअगाडि विधिपूर्वक सल्लाको लिङ्गो ठड्याएपछि मेला शुरू हुने गर्छ । मेलामा देवीघाटस्थित जालपादेवी मन्दिरमा पूजाअर्चनासहित पशुबली दिने चलन छ । धार्मिक मान्यताअनुसार नुवाकोट मन्दिरपरिसरमा रहेको भैरवीदेवी बहिनी र तादी र त्रिशूली नदीको सङ्गमस्थल देवीघाटमा रहेको जालपादेवी दिदी हुन् । यी दुई दिदीबहिनीलाई वर्षको एकपटक भेट गराउन भैरवी देवीलाई बाजागाजा र सिन्दूर जात्रासहित देवीघाट ल्याउने गरिएको छ । यो मेलामा नुवाकोटआसपासका जिल्लाका साथै अन्यत्रबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् ।

दुप्चेश्वर मेला
विशाल पहराको बीचमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष धान्यपूर्णिमामा लाग्ने जात्रा जिल्लाको अर्को ठूलो पर्व हो । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा राउतबेशी वडा नं ८ स्थित यो मन्दिरमा बाह्रै महीना दर्शनार्थीको भीड लाग्छ । मङ्सिरको एकादशीको दिनबाट शुरू हुने जात्रा पूर्णिमापछि मात्र सकिन्छ । मेला र अन्य समयमा यस मन्दिरमा जिल्लाका साथै, धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखालगायत जिल्लाबाट समेत दर्शनार्थी आउने गरेका छन् । मेलाको धार्मिक एवम् पर्यटकीय महŒव पनि छ । खासगरी स्थानीय झाँकी नाच, ह्याल्मो गीत र शेर्पा नाच यहाँको अर्को विशेषता हो । यस मन्दिरमा विशेषगरी सन्तान नहुने दम्पति सन्तान प्राप्तिको कामनाका लागि आउने गर्छन् । दुप्चेश्वर महादेवको पूजाअर्चनापछि सन्तान हुन्छ भन्ने मान्यता छ ।

बेत्रावती मेला
उत्तर गयाका रूपमा चिनिने रसुवा र नुवाकोटको सिमानास्थित बेत्रावतीमा पुसेऔंशी र कुशेऔंशीका दिने विशेष मेला लाग्ने गर्छ । यी दिनहरूमा विशेषगरी बाबुआमा नहुनेहरूले उक्त तीर्थस्थलमा गएर स्नान एवम् श्राद्ध आदि कर्म गर्छन् । यीबाहेक कविलासस्थित नाट्येश्वर मन्दिर, सागर कुण्डलगायत धार्मिक एवम् पर्यटकीय स्थलहरूमा विभिन्न समयमा मेला लाग्ने गर्छ ।

गोरू जुधाउने जात्रा
नुवाकोटको तारुका गाविसमा हरेक वर्ष माघेसङ्क्रान्तिका दिन आयोजना हुने गोरू जुधाउने जात्राले पनि विशेष महत्व राख्छ । किंवदन्तीअनुसार बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्नका लागि गोरू जुधाएको र त्यसै बेलादेखि उक्त परम्पराले निरन्तरता पाएको बताइन्छ । राजाको स्वागतार्थ शुरू भएको गोरू जुधाउने जात्रालाई हाल पर्यटकीय महत्वका साथ हेरिन थालिएको छ । उक्त जात्रामा नुवाकोटआसपासका धादिङ, रसुवा, चितवन, कास्की, काठमाडौंलगायत स्थानबाट समेत दर्शक आउने गरेका छन् ।
पर्यटकिय महत्व
धार्मिक एवम् ऐतिहासिक महत्वको जिल्ला नुवाकोट पर्यटकिय दृष्टिकोणबाट समेत निकै सम्भावना बोकेको जिल्लाहो । ककनी, चिर्केश्वर डाँडा, बागमारा, सागर कुण्ड, भाल्चेको भेडा फार्म, चिसापानी, माला भञ्ज्याङ, काला भञ्ज्याङ, गोल्फुभञ्ज्याङ यहाँका प्रमुख पर्यटकिय स्थलहरु हुन् । जिल्लाको पर्यटकिय स्थलहरुको प्रवद्र्धनका लागि पछिल्लो समय फरक फरक पदमार्गहरुको खोजी हुन थालेको छ । काठमाडौंको शिवपुरीदेखि नुवाकोटको साततले दरबारसम्म पुगेर टुङ्गिने नौ दिने पदमार्ग शिवपुरी–अल्छे–पूणी–कुखुरे, मानेभञ्ज्याङ–माङ्केडाँडा–समुद्रटार–सुन्दरादेवी–बागमारा–मालाभञ्ज्याङसम्मको पदयात्रामा पर्यटकले स्थानीयवासीको रहनसहन, संस्कृति, भेषभुषाका साथै हिमाल, सुयोदय जस्ता प्राकृतिक मनोरम दृष्यावलोकन गर्न पाउने छन् ।

खेल पर्यटन
नुवाकोटमा भएका चौरहरूमा रङ्गशाला निर्माण गर्न सकिने सम्भावना रहेको छ । बट्टार, पीपलटार, देवीघाट, रातमाटेमा ठूला खेलमैदान बनाएर खेल पर्यटन बढाउन सकिन्छ ।

नुवाकोटका ‘ब्रान्डलेस’ ब्रान्ड
शिखरबेसीको चामल, ट्राउट माछा, त्रिशूलीको माछा, रानीपौवाको मुला, तरकारी लाई नुवाकोटका ‘ब्रान्डलेस’ ब्रान्ड भन्दा अत्युक्ती हुँदैन ।
चलचित्र छायाङ्कनको पनि प्रशस्त सम्भावना

ऐतिहासिक र पर्यटकीय स्थलका रुपमा पहिचान बनाएको नुवाकोट चलचित्र छायाङ्कनको गन्तव्यसमेत बन्न सक्ने सम्भावना रहेको छ ।

काठमाण्डुबाट नजिकै भएका कारण आर्थिक दृष्टिबाट पनि नुवाकोट फिल्म छायाङ्कनका लागि रोजाइमा सजिलै पार्न सकिन्छ । नुवाकोटको सात तले दरबार राष्ट्रिय सङ्ग्रहालय, पिपलटार, देवीघाट, बट्टार, चण्डीपोखरी, इनारपाटीलगायतका स्थानलाई छायाङ्कन स्पटको रुपमा विकाश गर्न सकिन्छ ।

ट्राउट हाईवे

नुवाकोट ट्राउट उत्पादनका लागि अग्रणी जिल्ला हो । पछिल्लो समय काठमाडौं त्रिशुली सडक खण्डको ककनी, मदानपुर, सुनखानी, काउले, भाल्चे, मनकामना, बेलकोट, बालकुमारी लगायत १२ भन्दा बढी गाविसमा व्यावसायिक ट्राउट माछा पालन भइरहेको छ । हालसम्म ट्राउट पालन व्यवसायमा मात्र नुवाकोटमा करोडौँ रुपैयाँ लगानी भइसकेको छ । ६ वर्षअघि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम लागू भएपछि जिल्लामा जापानी रेन्वो ट्राउटको व्यावसायिक उत्पादन शुरू भएको हो । अहिले यस क्षेत्रमा ट्राउट माछा प्रति किलोग्राम औषतमा १ हजार रुपैयाँमा विक्री भइरहेको छ । नुवाकोट काठमाडौं जोड्ने पासाङ ल्हामु राजमार्ग रेन्बो ट्राउट हाइवेका रुपमा विकास हुँदै गएको छ । यसलाई अझ विस्तार गरी आन्तरिक पर्यटन बिकास र ठुलो आम्दानी पनि गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार