एजेन्सी । आजकल ग्यास्ट्रिकको समस्या सामान्य जस्तै भइसकेको छ । ग्यास्ट्रिकबाट पीडित नेपालीको संख्या अत्यधिक धेरै रहेको चिकित्सकको दाबी छ । यो समस्या लिएर अस्पताल आउने बिरामीको संख्या धेरै रहेको चिकित्सकले बताएका छन् । ग्यास्ट्रिक विभिन्न कारणले लाग्छ । खानपान र हामीहरूको जीवनशैलीका कारण यो समस्या उत्पन्न हुन्छ । जथाभावी खानपानले ग्यास्ट्रिक बढाउँछ । अनियमित जीवनशैली जस्तै, भोक लागेको वेला नखाने, आवश्यकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाने, खानापछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खाने बानीले पनि यो रोग वृद्धिमा सहयोग पुर्‍याइरहेको हुन्छ । तपाईलाई पनि ग्यास्ट्रिक छ भने यस्ता कुरामा ध्यान दिनुहोस्…

कागती पानी : पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ। कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ। दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ। प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ। लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ। खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

स्वाथ्यखबरडटकम

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार