असार २८, काठमाण्डौ । शनिबार पनि देशका धेरै ठाउँमा हुरीबताससहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापिय रेखामा न्यूनचापिय क्षेत्र पनि मिसिएपछि बिहीबार रातिदेखि नै मध्य र पूर्वका धेरै ठाउँमा हुरीबताससहित निकै ठूलो पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली पश्चिमसम्म नै फैलिएकाले शनिबार पश्चिमी तराईमा पनि ठूलो पानी पर्ने सम्भावना छ । शनिबार भने लगातार झरी भने नपर्ने उहाँको अनुमान छ । तर पनि धेरै ठूलो पानी पर्ने देखिएकाले पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा पहिरो खस्ने तथा मध्य, पूर्व र पश्चिमको तराई क्षेत्रका नदीमा ठूलो बाढी आउँने भएकाले सजग भने हुनुपर्ने मौसमविद् श्रेष्ठको भनाइ छ ।

यस्तै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटिका कारण अवरोध आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउनु उहाँको सुझाव छ । झरी नपरे पनि सोमबारसम्म नै केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।गएको २४ घण्टामा सिमरामा ३ सय ११ दशमलव ९ मिलिमिटर, जनकपुरमा २ सय ४५ दशमलव २ मिलिमिटर, धरानमा १ सय ५५ मिलिमिटर, काठमाण्डूमा १ सय १५ दशमलव २ मिलिमिटर र ओखलढुंगामा १ सय १ दशमलव ३ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मकवानपुरमा खोलाले बगाएर एक जनाको ज्यान गयो, पहिरोले पुरिएकी महिलाको ७ घण्टापछि उद्धार- मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–१०, मा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । डर खोला तर्ने क्रममा हिजोबाट बेपत्ता भएका स्थानीय सानुकान्छा सुनारको शव शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । खोलाले बगाएर शुक्रबारदेखि बेपत्ता भएका सुनारलाई बगाएको स्थानबाट दुई सय मिटर तल फेला पारिएको प्रहरीले जनाएको छ ।

यसैगरी मकवानपुरको कैलाश गाउँपालिका–५, कालीखोलामा पहिरोले पुरिएकी ५५ वर्षीया तारामाया पाख्रिनको ७ घण्टापछि उद्धार गरिएको छ । शुक्रबार दिउँसो १२ बजे पहिरोमा पुरिएकी तारामायालाई स्थानीय युवाले साँझ ७ बजे उद्धार गरेको वडाध्यक्ष छेकु लामाले जानकारी दिनुभयो ।गम्भीर घाइते अवस्थामा उद्धार गरिएकी तारामायालाई उपचारको अस्पताल लगिएकोे लामाले बताउनुभयो । उहाँको खुट्टा भाँच्चिएको छ भने शरीरका अन्य भागहरुमा चोटपटक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार