असार २८, काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् । भैरहबाबाट दाना बोकेर काठमाण्डौ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक शनिबार बिहान साढे एक बजे त्रिशूलीमा खसेको हो । ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापा मगर घाइते हुनु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उहाँको उपचार भइरहेको छ । प्रहरीका अनुसार माथिबाट खसेको ढुंगा छल्न खोल्दा अनियन्त्रित भएर ट्रक त्रिशूलीमा खसेको हो । ट्रक पूरै पानीमा डुबेको र नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

बाढीबाट जोगिन रुख चढेका मुखियाको २४ घण्टापछि उद्धार- नदीको बाढीबाट जोगिन रुख चढेका एक जनाको २४ घण्टापछि शुक्रबार उद्धार गरिएको छ । बाढीबाट जोगिन बिहीबार रुख चढेका सिरहाको कर्जन्हा नगरपालिका–२ का ५५ वर्षीय बेत्रु मुखियाको शुक्रबार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीका अनुसार कमला नदीको बीचमा रहेको रुखमा चढेका मुखियालाई धनुषाको पोर्ताहा क्षेत्रबाट गएको सेनाको टोलीले उद्धार गरेको हो । दिनभर पानीको बहाव नघटेका कारण उद्धारमा कठिनाइ भएको थियो । प्रतिकूल मौसमका कारण उद्धारका लागि काठमाण्डौबाट हेलिकप्टर आउन सकेको थिएन । मुखिया कमला नदीको बगरमा टहरा बनाएर तरकारी खेती गर्दै आउनुभएको थियो । गएराति बाढीले टहरा बगाएपछि मुखिया ज्यान जोगाउन रुख चढ्नुभएको थियो ।

६ सय परिवार विस्थापित – वर्षासँगै कमला नदीमा आएको बाढीका कारण सिरहामा ६ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।बाढीका कारण सिरहा नगरपालिका–६ बसपिट्टा, लहान नगरपालिका–१ र २ मिलनचोकको बस्ती डुबानमा परेको छ । वर्षापछि कमला, बलानलगायत नदीको पानीको सतह बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार