पहिरोका कारण नारायणगढ–मुग्लिन सडक एकतर्फी.

असार २७, काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण एकतर्फीमात्रै गाडी चलिरहेका छन् । बिहीबार राति भएको वर्षाका कारण पहिरो खसेपछि सडक एकतर्फीमात्रै सञ्चालनमा आएको हो । यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेकाले एकतर्फी रुपमा मात्रै गाडी चलेको र ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ ।यो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

यो पनि पढ्नुहोस.. बागमती नदीमा बाढीले सतर्कता तह पार गर्‍यो, सुरक्षित रहन आग्रह- लगातार पानी परेपछि देशका धेरै नदीमा बाढी आएको छ । बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले अनुरोध गरेको छ । शुक्रबार बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले बागमतीमा शुक्रबार पानीको सतह खतराको तह नजिकै पुग्ने देखिएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गर्दै त्यहाँका बासिन्दालाई मोबाइलमा सन्देश समेत पठाइसकेको जानकारी दिनुभयो । यस्तै, शुक्रबार रातु, खाँडु, लालबकैया, गागन, त्रियुगालगायत सबै चुरेबाट बहने खोलामा उच्च भोलिसम्मै सतर्कता अपनाउन उहाँले अपील गर्नुभएको छ । झापा, मोरङ, सुनसरी तथा चितवनदेखि नवलपरासीसम्म चुरेबाट बहने खोलामा सतर्कताको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार