बैशाख १९, काठमाडौं । मुलुकमा पहिलो पटक बर्डफ्लु अर्थात् इन्फ्लुएन्जा (एच फाइभ एनवन) संक्रमण हुँदा युवकको ज्यान गएपछि सरकारले संक्रमणको जोखिम घटाउन विस्तृत अध्ययन गर्ने रणनीति अपनाएको छ। ज्वरो र रुघाखोकी लक्ष्णसहित बिरामी भएका २१ वर्षीय युवकको एक महिनाअघि ज्यान गएको थियो। गत चैत १० गते अस्पताल भर्ना भएका ती युवकको नाम, ठेगाना सार्वजनिक गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीको भनाइ छ। अस्पतालमा उपचारको क्रममा ती युवकको ज्यान गएको थियो।

उनले भनिन, ‘अन्तर्राष्ट्रिय चासो रहेको र यसले चौतर्फी प्रभाव पार्ने भएकाले संक्रमणको जोखिम घटाउने कार्यमा ध्यान दिएका छौं।’ यस घटना अन्तर्राष्ट्रिय स्वास्थ्य नियम,२००५का प्रावधान अनुसार अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य अवस्था भएको सचिव डा. चौधरीले बताइन। इन्फ्लुएन्जाबाट ज्यान गएको घटनालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को माध्यमबाट विस्तृत विवरण अन्य मुलुकलाई पनि पठाइने मन्त्रालयले जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, विश्व स्वास्थ्य संगठनको पूर्वी एसिया क्षेत्रीय कार्यालयलगायतका निकायसँगको सहकार्यमा इन्फ्लुएन्जाको संक्रमण फैलिन नदिन निगरानीलाई सशक्त बनाइने सचिव डा. चौधरीले जानकारी दिइन्। जोखिम मूल्यांकन गर्नुका साथै संक्रमणको सम्बन्धमा विस्तृत अध्ययन गरिदैं छ’, डा. चौधरीले भनिन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार