काठमाडौं, १८ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ बुधबारदेखि नयाँ निवास सरेका छन् । उनी अहिले बस्दै आएको गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ‘ग्रीनहाउस’मा सरेका हुन् । उपराष्ट्रपति पुन अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर उपराष्ट्रपति भवनमा सरेका उनका प्रेस संयोजक मनोज घर्ती मगरले जनाएका छन् । मन्त्रिपरिषद्को गत भदौ २१ गतेको बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । वातावरणमैत्री हरियो रङले रङ्ग्याइएको भवनलाई ‘ग्रीनहाउस’नामाकरण गरिएको छ । सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपति पुन त्यहाँ सरेका हुन् । उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछि मात्रै सर्नेछ । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ । यसअघि उपराष्ट्रपतिको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार