बैशाख १३, काठमाडौं । नेपाल र साउदी अरब इमिरेट्स (यूएई) बीच नयाँ श्रम सम्झौता हुने भएको छ । सम्झौताको अन्तिम मस्यौदामा बिहीबार सहमति जुटेको छ । नेपाल र यूएईका उच्चस्तरीय श्रम अधिकारी संलग्न प्राविधिक समितिको बैठकले नयाँ सम्झौताको मस्यौदा टुंगो लगाएको हो । मस्यौदामा प्राविधिक टोलीका सदस्यले हस्ताक्षर गरेका छन् । दुबै देशको मन्त्रीस्तरीय बैठकले मारित गरेपछि मस्यौदामा दुई देशबीच हस्ताक्षर हुनेछ । एक महिनाभित्र हस्ताक्षर गरी सम्झौता कार्यान्वयन गर्ने सहमति भएको खबर आजको कातिपुर दैनिकमा खबर छापिएको छ ।

यसैबीच साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कस्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन कुरिरहेका छन् ।

३१ वर्ष कान्छीसँग विवाह गर्न खोज्ने प्रहरीको फन्दामा !
सिरहामा १९ वर्षीय युवती विवाह गर्न खोज्ने ५० वर्षीय पुरुष पक्राउ परेका छन् । १९ वर्षीया किशोरीसँग जनकपुरधामको रामजानकी मन्दिरमा बिहे गर्न खोज्दा प्रहरीले मण्डपबाटै उनीसहित ५ जनालाई पक्राउ गरेको हो । सिरहाको बरियारपट्टि गाउँपालिका ५ हरिपुरका ५० वर्षीय जीवेन्द्रनारायण यादवले सिरहाकै औरही गाउँपालिका ३ की १९ वर्षीया किशोरीसँग बिहे गर्न लागेका थिए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

बारा-पर्साका हुरीपीडितलाई साढे पाँच लाख लागतमा घर निर्माण हुने
सरकारले बारा र पर्साका हुरीपीडितका लागि साढे पाँच लाख रुपैयाँबराबरका घर बनाउन सेनालाई जिम्मा दिएको छ । सेनाले पठाएको दुई विकल्पसहितको प्रस्तावबारे रक्षा मन्त्रालयले सहरी विकास मन्त्रालयसँग थप सुझाब लिएर मन्त्रिपरिषदले मंगलबार यो निर्णय गरेको हो । हुरीबाट घर पूर्ण क्षति भएका एक हजार चार सय ५३ घर निर्माणका लागि सरकारले सेनालाई जिम्मा दिइसकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार सबै घर निर्माणका लागि करिब ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ सेनालाई उपलब्ध गराउने निर्णय भएको छ । सेनाले वर्षाभित्र घर निर्माणका लागि आवश्यकताअनुसार गैरसैनिक जनशक्ति पनि प्रयोग गर्ने तयारी गरेको छ ।

१२ वटा सामूहिक आवास निर्माण गर्ने: नेपाली सेनाले १२ वटा सामूहिक आवास निर्माण गर्नेछ । ‘प्रतिघर पाँच लाख ४५ हजार रुपैयाँमा बन्न सक्छ भन्ने प्राविधिक सुझाब रक्षा मन्त्रालयलाई दिएका छौँ,’ सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने । सेनाले आवास निर्माणका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।‘बारामा एक हजार तीन सय ६२ वटा र पर्सामा ९१ वटा घर बनाउने जिम्मा पाएका छौँ,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘सरकारले दिएको जिम्मेवारीअनुसार असारभित्रै घर बनाएर हस्तान्तरण गर्न सेना तयारी अवस्थामा छ ।’ बाराको सिमरास्थित सेनाको नम्बर २८ बाहिनीको संयोजनमा घर निर्माणका लागि सैनिक तयारी अवस्थामा छन् । जंगी अड्डामा पनि इन्जिनियरिङ विभागको कार्यदल तयार गरिएको प्रवक्ता पाण्डेले बताए । प्रदेश सरकार, स्थानीय तहसँग समन्वय गरेर सेनाले निर्माण सुरु गर्नेछ । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार