बैशाख ०९, नवलपरासी । बिहानको करिब ७ बज्दै थियो, निरजको पार्थिव शरीर हेर्नका लागि घरमा ठूलो भीड जम्मा भएको देखिन्थ्यो । कावासोती नगरपालिका वडा नम्बर ९ रामनगरका २६ वर्षीय निरज परियारलाई अन्तिम बिदाईका लागि उनका आफन्त, छर–छिमेक सबै जना गत शुक्रबार बिहान जम्मा भएको दृश्य थियो । निरजको शव बाकसमा राखेर गत बिहीबार राति घरमा ल्याइएको थियो ।

धनसम्पत्ति कमाउला र घरपरिवारमा खुसी बाडौँला भन्ने मिठो सपना बोकेर संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा वैदेशिक रोजगारीका लागि पुगेका निरजको गत चैत १७ गते मृत्यु भएको थियो । बाकसमा राखेर उनको शव २० दिन पछि घर आईपुगेको हो । सामान्य परिवारका निरज घरका एक्ला छोरा थिए । मामाघरकी बुढी हजुरआमा, आमा र एउटी दिदीको जिम्मेवारी उनकै का“धमा थियो । बुबाले उनी सानै छँदा परिवारका सबैलाई छोडेर दोश्रो विवाह गरेर बाहिरै बस्दै आएका छन् ।

घरपरिवारकै आवश्यकतालाई पुरा गर्न १८ वर्षको कलिलो उमेरमा नै उनी वैदेशिक रोजगारीका लागि यूएई पुगेका थिए । उनी दोश्रो पटक वैदेशिक रोजगारीका लागि गएका थिए । चार वर्ष बिताएर आउँदो दसैँमा घर आउने तयारीमा थिए निरज । दिदीको बिहेको जिम्मेवारी पुरा गर्नुका साथै आफ्नो पनि घरवार गर्ने तरखरमा थिए । तर, निरज सधैँका लागि अस्ताएपछि अहिले उनको घरपरिवार मात्रै होइन गाउँनै शोकमा डुबेको छ । छोराको मृत्युको खबर पाएसँगै अर्धचेत बनेकी उनकी आमाको आ“खामा आ“सु रोकिएको छैन ।

निरजले आबुधाबीमा ट्याक्सी दुर्घटना हुँदा ज्यान गुमाएका हुन । गत चैत १७ गत आइतबार राती १२ बजे आबुधाबीको साविया ९ नम्बरमा भएको दुर्घटनामा उनको मृत्यु भएको थियो । निरज आबुधाबीको साबियामा रहेको युनिभर्सल हस्पिटलको फार्मेसी शाखामा कार्यरत थिए । उनी कार्यरत हस्पिटलमै उपचारका लागि आएकी नेपाली महिला शान्ति विकलाई बिन जायद सिटीमा छोड्न आफ्ना एक जना साथीसँग जायाद सिटी जाँदै गर्दा उनीहरु चढेको ट्याक्सीलाई पछाडिबाट अर्को कारले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

निरज त एक प्रतिनिधि पात्र मात्र हुन् । वैदेशिक रोजगारीमा गएका नवलपरासीका धेरैले ज्यान गुमाएका छन् । नवलपरासी जिल्ला वैदेशिक रोजगारीमा जाने देशकै छैठौँ स्थानमा पर्छ भने वैदेशिक रोजगारीबाट शव नेपाल आउने देशकै चौँथो जिल्लामा पर्ने आप्रवासी श्रोत केन्द्र कावासोतीको तथ्याङ्कले देखाएको छ । त्यसमा पनि नवलपुरका आठ वटा स्थानीय तहमध्ये वैदेशिक रोजगारीको कावासोती नगरपालिकाबाट सबैभन्दा धेरै मुद्दाहरु दर्ता हुने गरेको छ ।

नवलपुरमा वैदेशिक रोजगारीका क्रममा सात महिनाको अवधिमा १४ जनाले ज्यान गुमाएका छन् । गत वर्षको असोजदेखि चैतसम्ममा १४ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरुमा कावासोती नगरपालिकाका निरज परियार र राजकुमार श्रेष्ठ छन् । यस्तै हुप्सेकोट गाउँपालिकाका दुर्गासिंह राना, विष्णु पुरी, सोमबहादुर घर्ती, गैँडाकोट नगरपालिकाका हरिलाल गोतामे, रामबहादुर दर्जी र रामजी परियार छन् । देवचुली नगरपालिकाका दिपक खराल, मध्यबिन्दु नगरपालिकाका रिमबहादुर सारु र प्रेमबहादुर बयम्बु रहेका छन् । यस्तै बौदीकाली गाउँपालिकाका अजय राना र थलकबहादुर मल्ल रहेको आप्रवासी श्रोत केन्द्र कावासोतीकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिईन् ।

वैदेशिक रोजगारीमा गएकाहरु अधिकांशको प्राकृतिक मृत्यु हुने गरेको पाइएको छ । विदेशमा हावापानी नमिल्दा राती सुतेका व्यक्तिहरु बिहान मृत्यु हुने गरेको पाइएको परामर्शदाता लम्सालले बताईन् । सात महिनामा मृत्यु भएका १४ जनामा सात जनाको प्राकृतिक मृत्यु भएको हो । यस्तै एक जनाको विषाक्त रक्सी सेवनबाट मृत्यु भएको थियो । तीन जनाले आत्महत्या गरेका हुन् भने तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको लम्सालले बताइन् ।

नेपालबाट ठूलो सपना बोकर विदेश गएका नेपालीहरुले विदेशमा गईसकेपछि आफूले सोचेभन्दा धेरै फरक र दुःख हुँदा आत्महत्याको विकल्प रोज्ने गरेको लम्साल बताउँछिन् । ‘कार्यालयमा आएको नवलपुरकै एउटा घटना यस्तो पनि छ । विदेश पुगेको ६ दिनमै आत्महत्या गरेको केश हामी कहाँ दर्ता छ । जुन ज्यादै दर्दनाक छ ।’ लम्सालले भनिन्, –‘नाम मैले लिन सक्दिन किनकी व्यक्तिगत गोप्यता राख्नु मेरो दायित्व हो । पहिलो पटक विदेश पुगेका एक जना २१ वर्षका युवकले काम धेरै दुःख भएपछि छ दिनमै आत्महत्या गरेका छन् ।’

आत्महत्या गर्नेमा धेरै ३५ वर्ष उमेर भन्दा मुनिका छन् । नवलपुरको पछिल्लो सात महिनामा आप्रवासी श्रोत केन्द्र कावासोतीमा वैदेशिक रोजगारी सम्बन्धी एक सय ६४ वटा केश दर्ता भएको सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक ऋतुराम सोतीले जानकारी दिए । जसमा सबैभन्दा धेरै पैसा र पासपोर्ट लगेर विदेश नपठाएको ७१ वटा उजुरी दर्ता भएको छ ।

विदेशमा वेपत्ता भएको १० वटा, करार अवधि सकिएपछि नेपाल नफर्केको तीन वटा, कारागारमा परेको ३ वटा, मेडिकल फेल भएर नेपाल फर्कन नपाएको एउटा, कागजपत्र नभएको सात वटा, भिजिट भिषामा गएर काम नपाएर अलपत्र परेको पाँच वटा उजुरी दर्ता भएको सोतीले बताए । यस्तै एजेन्टले पासपोर्ट राखेर गरेर पैसा मागेको ६ वटा, बिरामी भएर नेपाल फर्कन नपाएको २ वटा, काम पनि नभएको र तलब पनि नभएको १३ वटा, उद्धार गर्नुपर्ने खालका घटना (जस्तै चोरीको अभियोग लागेर नेपाल फर्कन नपाएको, भारतको बाटो प्रयोग गरेर जाँदा नेपाल फर्कन नपाएको) तीन वटा, घरेलु काममा जाँदा समस्यामा परेको महिलाको तीन वटा उजुरी दर्ता भएको छ जसमा १० जना महिला सम्बन्धी उजुरी दर्ता भएको सोतीले जानकारी दिए ।-नारायणी अनलाइनबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार