कमलेश/ बीबीसी । त्यो १० अप्रिल २०१८ को दिन थियो । म हरेक दिन झैं कलेजका लागि निस्किएँ । म सधैं रेल चढेर कलेज जान्थेँ । त्यो दिन पनि म रेल चढ्ने कोसिस गरिरहेको थिएँ । त्यति नै बेला मेरो खुट्टा चिप्लियो । म रेल र ट्र्याकको बीचमा फसेको थिएँ । रेल मेरो बायाँ हात माथिबाट गुड्यो र कुहिनाबाट काटिएर अलग भयो । तर मेरो ब्याग रेलमा नै फसेकाले म रेलसँगै घिसारिएँ । ’

मुम्बईमा बस्ने चयांक कुमारले त्यसदिन सधैंका लागि आफ्नो हात गुमाउने थिए तर समयमा अस्पताल पुगेका कारण उनले आफ्नो हात फिर्ता पाए । चयांकको काटिएको हात जोडिएन मात्रै त्यसको ६ महिनापछि त्यसमा प्रतिक्रिया पनि देखिन थाल्यो । आफ्नो दुर्घटनाबारे चयांक बताउँछन्, ‘जब म रेलबाट छुट्टिएँ तब मैले मेरो काटिएको हात अलि पर देखेँ । मेरो हातबाट रगत बगिरहेको थियो र निकै पीडा भइरहेको थियो । म बेहोस नै हुन्छुजस्तो लागेको थियो । तर मैले जसरी पनि आफ्नो हात उठाएँ र प्लेटफर्मतर्फ बढेँ । मैले एक व्यक्तिलाई माथि तान्न आग्रह गरेँ । म प्लेटफर्ममा बसेँ र आमालाई फोन गर्न थालेँ तर मेरो हातमा यतिधेरै रगत थियो कि फोन अनलकसमेत गर्न सकिनँ । मैले अर्कै व्यक्तिको सहयोगमा आमालाई फोन गरेँ ।’

चयांकलाई काटिएको अंग कसरी जोडिन्छ भन्ने थाहा थिएन । यसका लागि उनलाई रेलवे कर्मचारी र सरकारी अस्पताललले सहयोग गरे ।
चयांक भन्छन्, ‘जब म आमालाई फोन गरिरहेको थिएँ तबसम्म स्टेशन मास्टर र जीआरपी पुलिस आइसकेका थिए । मलाई स्ट्रेचरमा राखेर एम्बुलेन्ससम्म पुर्याइयो र नजिकैको सरकारी अस्पतालमा भर्ना गरियो । त्यसपछि मलाई मेरी आमाले कोकिलाबेन अस्पताल पुर्याउनुभयो । त्यहाँ मेरो शल्यक्रिया भयो जुन करिब आठ घण्टासम्म चल्यो । त्यसपनि मेरो तीनवटा शल्यक्रिया भयो ।’शल्यक्रिया लगत्तै चयांकको हात ठिक भएन । त्यसमा समवेदना र हलचल महसुस हुन करिब ६ महिना लाग्यो ।

चयांक भन्छन्, ‘शल्यक्रियापछि हातमा कुनै हलचल भएन । केही महसुस भइरहेको थिएन । फिजियोथेरापिस्टमार्फत् पनि उपचार भइरहेको थियो । त्यसपछि सेप्टेम्बर–अक्टोबरमा औंलामा हलचल सुरु भयो । अहिले हातले चिसो तातो महसुस गर्न थालेको छ । कसैले छोएको थाहा हुन्छ । हात पूर्ण रुपमा त चल्दैन तर क्रमशः सुधार भइरहेको छ । कहिलेकाँही हात ठिक हुँदैन जस्तो लाग्थ्यो तर आमाले सधैं हिम्मत बढाउनु हुन्थ्यो ।’इन्जिनियरिङ गरिरहेका चयांक कुमारको हात त बच्यो तर सही जानकारी नहुँदा यस्ता दुर्घटनामा थुप्रै मानिसहरुको काटिएको अंग फिर्ता पाइँदैन । शरीरबाट पूर्ण रुपमा अलग भइसकेको अंगलाई पुनः जोड्न सकिन्छ तर त्यसका लागि केही सावधानी अपनाउनुपर्छ ।

कोकिलाबेन अम्बानी अस्पतालमा चयांक कुमारको उपचार गराउने प्लास्टिक सर्जन डाक्टर काजी अहमद भन्छन्, ‘चयांकको हात त्यसकारण जोड्न सकियो किनभने उनी समयमै र सही तरिकाले अस्पताल पुगेका थिए । चार घण्टाभित्र नै उनको शल्यक्रिया भएको थियो ।’डाक्टर काजी अहमदले यस्ता मामलामा अपनाउनुपर्ने सावधानी र यो विशेष शल्यक्रियाबारे जानकारी दिएका छन् ।

कसरी राख्ने काटिएको अंग ? सबैभन्दा महत्वपूर्ण कुरा के हो भने काटिएको अंग खराब हुनुअघि नै अस्पताल पुग्ने ता कि समयमा नै शल्यक्रिया हुन सकोस् । अंगहरु शरीरसँग जोडिएका बेला रक्तप्रवाह मार्फत् कोसिकाले अक्सिजन पाइरहन्छ तर काटिएपछि अक्सिजन नपाएपछि कोसिकाको मृत्यु हुन थाल्छ । कोसिका निष्क्रिय हुनुअघि नै अंगलाई शरीरसँग जोड्न अत्यावश्यक छ । काटिएको हिस्सा थोरै चिसो र त्यसको मेटाबोलिजममा क्षती नपुगोस् भनेर हामीले ध्यान दिनुपर्छ ।

त्यसकारण काटिएको अंगलाई सलाइन वा सफा पानीले धुनुहोस् । त्यसपछि सफा कपडाले हल्का बेर्नुहोस् । कपडालाई नकस्नुहोस्, मात्र बेर्नुहोस् । यसका लागि रुमाल वा चिसो रुमालको प्रयोग गर्न सक्नुहुन्छ । त्यसपछि यसलाई पोलिथिनमा राख्नुहोस् । त्यसपछि पोलिथिनलाई अर्को पोलिथिनमा राख्नुपर्छ जसमा चिसो पानी वा बरफ राख्नुपर्छ । यसो गरे काटिएको हिस्सा चिसो रहन्छ तर बरफको सिधा सम्पर्कमा पार्नु हुँदैन ।

किनभने बरफले त्यो अंग बिग्रिन्छ, ‘कोल्ड इन्जरी’ हुनसक्छ । चिसो राख्दा त्यसको मेटाबोलिजम कायम रहन्छ र निष्क्रिय हुने प्रक्रिया पनि निकै ढिलो हुन्छ । यसो गरे शल्यक्रिया सफल हुने सम्भावना बढ्ने गर्छ । यस्तै, जुन हिस्सा शरीरसँग जोडिएको छ त्यसलाई चिसो सफा कपडाले बेर्नुहोस् ता कि रगत बग्न रोकियोस् । त्यसमा हल्का प्रेसरका ड्रेसिङ गर्नुहोस् । यदि रगत बग्न रोकिएन भने ज्यानको खतरा हुनसक्छ । गुप्ताङ्ग काटिदाँ पनि यही प्रक्रिया हुन्छ ।

बचाउनका लागि कति समयः काटिएको अंगलाई कति समयभित्र शल्यक्रिया हुनुपर्छ भन्ने कुरा कुन अंग काटिएको छ, त्यसमा निर्भर हुन्छ । जस्तै, औंला काटिएको छ भने त्यसलाई राम्रोसँग जोगाएको खण्डमा १० देखि १३ घण्टाको समय पाइन्छ । कतिपय अवस्थामा त औंलालाई २४ घण्टासम्म पनि बचाउन सकिन्छ ।तर पूरा हात काटिएको छ भने बिरामीसँग अधिकतम चार घण्टामात्र समय हुन्छ । चार घण्टाभित्र हातलाई जसरी पनि जोड्नै पर्छ किनभने जुन अंगमा धेरै मांसपेशी हुन्छ, त्यसलाई बचाउने समय पनि कम हुन्छ ।

कसरी हुन्छ शल्यक्रियाः यो शल्यक्रियामा सामान्य टाँका लगाइँदैन, यसमा माइक्रोभेस्कुलर शल्यक्रिया हुन्छ । यो नसा जोड्ने प्रक्रिया हो । यसमा नसा र नलीलाई जोडिन्छ । यो शल्यक्रिया अपरेटिङ माइक्रोस्कोपमा हुन्छ र यसमा कपालभन्दा पनि पातला धागोको सिलाई हुन्छ ता कि रक्तप्रवाह सुरु हुन सकोस् ।यी टाँका सामान्य घाउमा लगाइने धागो प्रयोग गर्न मिल्दैन र न नै यसलाई खोल्न सकिन्छ । यो शरीरमा बसेर जोडिएको मांसपेशीलाई सहयोग गर्छ । यो शल्यक्रिया माइक्रोभास्कुलर सर्जरीमा विशेषज्ञता हाँसिल गरेका डाक्टरले मात्र गर्न सक्छन् ।

शल्यक्रिया पछिः काटिएको अंग ठिक हुन कति समय लाग्छ भन्ने कुरा चोट कति ठूलो छ त्यसमा निर्भर हुन्छ । जति ठूलो चोट लागेको छ निको हुन त्यति नै समय लाग्छ । पछि स–साना शल्यक्रियाको आवश्यकता पर्नसक्छ ।जोडिएपछि शरीरको त्यो हिस्सा निष्क्रिय लाग्छ तर त्यसमा प्रतिक्रिया आउन ४ देखि ६ महिनाको समय लाग्छ । यदि शल्यक्रिया राम्रो भएको छ भने अंगले अनुभूती गर्न सक्छ । बीचबीचमा यस्ता अनुभूती घटबढ हुनसक्छन् । यो उपचारमा अर्थोपेडिक डाक्टर वा फिजियोथेरापिस्टको पनि आवश्यकता हुन्छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार