साउन ०३, नवलपरासी । गैंडाकोटको मौलाकालिका मन्दिरमा केबलकार बनाउने दुई प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा अध्ययनको अनुमतिको लागि पुगेका छन् ।मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म र नवलपरासीको रानीतालदेखि मौलाकाली मन्दिरसम्म केबलकार अध्ययनको अनुमति मागेको हो । वातावरणीय प्रभाव मूल्यांकनका लागि अनुमति मागिएको मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको छ । मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ ।

सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व्यक्त गर्दै निर्माणमा जाने समूह तथा लगानीकर्तासमेत बढेका हुन् । मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा सहज यातायात सञ्चालनका लागि केबलकारको माग गर्दै आउने संख्या पछिल्लो दिनमा बढ्दै गएको छ । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार निर्माण गरेपछि नेपालमा केबलकारको युग सुरु भएको हो ।

मनकामनामा केबलकार चलेको लामो समयपछि मात्रै राजधानीमा चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएको छ । देशका एक दर्जनभन्दा बढी स्थानमा केबल निर्माण भइरहेको छ । दोलखाको कालिञ्चोक, पोखराको फेवातालदेखि सराङकोट र पाथीभरामा केबलकार निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ । मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर ध्रुवकुमार श्रेष्ठका अनुसार पछिल्लो समयमा केबलकार निर्माणका लागि भन्दै अध्ययन अनुमति माग्ने समूह बढ्दै गएको छ । पाथीभरा मन्दिरसम्म पुग्नका लागि त्रिवेणी केबलकार प्रालिले प्रारम्भिक वातावरण अध्ययनको काम सम्पन्न गरेर इञ्जिनियरिङको काम गरिरहेको छ । सोही स्थानमा हिमाल दर्शन प्रालि र पाथीभरा देवी दर्शनले पनि अध्ययन गरिरहेको छ ।

यस्तै भक्तपुरको सूर्यविनायकमा लिक सेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म त्रिवेणी केबलकार प्रालिले अध्ययन अनुमति मागेको छ । दिव्य दर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार निर्माणका लागि चासो व्यक्त गरेको छ ।
यस्तै सोलुखुम्बुको लुक्लामा सगरमाथा रोपवे प्रालिले अध्ययन गरिरहेको छ । डोटीको ठूलाकेदार, नुवाकोटको घ्याङफेदी गोसाइँकुण्ड केबलकार, इलाम पाथीभरा दर्शन र सर्वसिद्धिधाम पञ्चकोट बाग्लुङमा पनि प्रक्रिया सुरु भएको छ । लुक्लादेखि नाम्चेसम्म केबलकार र रोपवे दुवै सेवा दिने गरी अध्ययन भइरहेको छ । काठमाडौँ उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि अध्ययनका लागि स्वीकृति मागिएको छ । नागार्जुन केबलकार प्रालिले अध्ययन अनुमति मागेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मुक्तिनाथ दर्शन प्रालिले पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म पनि केबलकार निर्माणका लागि अध्ययन अनुमति माग्दै मन्त्रालयमा आवेदन दिएको छ । सो केबलकार निर्माणका लागि आवश्यक सहजीकरणको काम लगानी बोर्डले गरिरहेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेका अनुसार विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयारीका लागि अनुमति दिइएको हो । करीब १८ महिनाभित्र डिपिआर तयार पार्ने गरी मुक्तिनाथ दर्शन प्रालिलाई अनुमति दिइएकोछ । उता प्यूठानको घण्टीखोलादेखि स्वर्गद्वारी मन्दिरसम्म केबलकार निर्माणका लागि स्वर्गद्वारी दर्शन प्रालिले अनुमति मागेको छ । ललितपुरको गोदावरीदेखि फूल्चोकीसम्म केबलकार निर्माणका लागि सिद्धेश्वर पर्यटन सहकारी र युवा जागरण पर्यावरणीय मञ्चले अध्ययन अनुमति मागेको छ ।

यस्तै मनकामना दर्शन प्रालिले कास्की पुम्दी भुम्दीमा एक किलोमिटर लामो केबलकार निर्माणका लागि अध्ययन अनुमति मागेको छ । मन्त्रालयका अनुसार रसुवाको गोसाइँकुण्डसम्म पु¥याउने गरी चारवटा प्रस्ताव आएको छ । त्यसमा ११।८ किलोमिटर लामो धुञ्चे गोसाइँकुण्ड, १६।८ किलोमिटर लम्बाइको दुप्चेश्वर बतासकुण्ड, १०।८ किलोमिटर लम्बाइको यार्सा–बतासकुण्ड र ११।२५ किलोमिटर लम्बाईको चेघ्याङ– सूर्यकुण्डको प्रस्ताव परेको छ ।

यस्तै लम्की चुहा कैलालीदेखि मोहन्याल नगरपालिका– ३ सम्म जोड्ने ३.१५ किलोमिटर लामो केबलकार निर्माणका लागिसमेत अध्ययन प्रस्ताव प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठले केबलकार निर्माणका लागि आफूहरुले अध्ययन अनुमति दिने र वातावरणीय प्रभाव मूल्यांकनका लागि मात्रै सहजीकरण गरिदिने बताए । उनले प्राप्त भएका आवेदनलाई हेरेर आवश्यक निर्णय गर्ने भएकाले मन्त्रालयले आवश्यक काम गरिरहेको उल्लेख गरे ।

नेपालका केबलकार निर्माणका लागि विगतदेखि नै काम गर्दै आएका रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल सरकारले नीतिगतरुपमा नै प्रष्ट व्यवस्था गरेर सहजीकरण गरिदिनुपर्ने बताउँछन् । विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केबलकारको निर्माणको अनुमति दिने गरेको थियो । पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत काम हुने गरेको छ ।

रोपवे नेपालले बन्दीपुर, मौलाकालिका, लुक्ला, बुटवलदेखि पाल्पाको मणिमुकुन्द सेनको दरबारसम्म जाने केबलकार निर्माणका लागि आवश्यक सहजीकरण गरिरहेको छ । नेपालमा विशेष गरी स्वीटजरल्याण्ड, अष्ट्रिया, भारत र जर्मनीको प्रविधि भित्र्याउने गरिएको छ ।सरकारले आर्थिक विकासको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखेको सन्दर्भमा पर्यटक आकर्षणका लागि केबलकार निर्माणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ । यातायातको पहुँच पु¥याउन मुलुकको पहाडी तथा हिमाली क्षेत्रका केबलकार तथा रोपवेलगायतलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार