सुख र दुःखका पानाहरु बोकेको यो जिन्दगीलाई मैले पनि देखेँ । आजसम्मको जीवनमा मैले पनि प्रत्येक क्षणलाई अनुभव गरेँ ।

समय बितिरह्यो, प्रत्येक क्षण बदलिँदै गए । समाज बदलिँदै गयो अनि शरीर पनि ।बालापनसँगै सुरु भएको त्यो अनौठो क्षण, त्यो वसन्तको सुरुवात, कोइलीको आवाज अनि काफल एैँसेलुका दानाहरु, गुराँसका बोटमा लागेका झुसिलकिरालाई देख्दा शरीरमा उठेका डाबरहरु, असार साउनमा पारि डाँडामा बिस्तारै उडिरहेका कुहिरोको आकार बनाउनुको छुट्टै मज्जा । मकै बारीमा लुकेर साथीलाई बोलाउनुको मज्जा, कोदो बारीमा फलेका कोदाका बालाहरु साथीसाथी मिली चुँडेर आकाशतिर हुराउँदाको खुशी । जाडो महिनामा सबै साथी परालको थुप्रोमाथि बसेर घाम ताप्दाको आनन्द अनि चैत वैशाखमा आउने शिरशिरे बतासमा काप्रोको रुखमा खुट्टा झारेर भोगटेको फूलको बास्ना सुँग्दाको त्यो क्षण अझै पनि मानसपटमा ताजै छन् ।खोलाका बगरमा साथीसँग खेल्दा अनि जंगलमा घाँस काट्न जाँदा आफ्नो डोको खाली हुँदा साथीले काटेको घाँस चोर्नुको मज्जा कसरी भुल्न सकिन्छ र ।ती वनजंगल साथी सहेली अनि डाँडाकाँडासँगै जोडिएको मेरो नाता खै कसरी टुटाइदियो यो सहरले पत्तो नै पाइन ।यसरी बिताइरहेको बालापन आफ्नै डाँडाकाँडामा राखेर शहर आउँदा कता कता मन चुँडिएर आउने रहेछ । आफ्नो शरीरलाई नै कतै छाडेर आएजस्तो लाग्ने रहेछ ।

आफ्नो गाउँलाई छाडेर शहर आएपछि शहरिया समाजमा बस्न कठिन हुँदो रहेछ । आफ्नो गाउँ अनि आफ्ना साथीभाइलाई शहरिया समाजसँग दाँज्दा त आफ्नो ठाउँ सर्वश्रेष्ठ लाग्ने रहेछ ।

संघर्षमय भयो शहरी जीवन । खुला हृदय पार्न सिकाएको मेरो गाउँको आदर्शलाई ओझेलमा पारेर यो शहरले स्वार्थी बन्न सिकायो । गाउँले सिकाएको एकताको आदर्शलाई मेटाएर एक्लै जीउन सिकायो मलाई यो शहरले । यो शहरले यति स्वार्थ समाजको निर्माण गर्यो कि पैसा तिरेर बोल्नुपर्ने यो समाज अनि यहाँका देखावटी मान्छेको तुलनामा मेरो गाउँ स्वर्ग लाग्छ मलाई ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार