आज वि.सं. २०७६ साल भदौ ०८ गते आइतबार, तदनुसार ई.सं. २०१९ अगस्ट २५ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, बोलीमा खासै प्रभाव रहने छैन, तपाईंको भावनाको कदर नहुन सक्छ । धार्मिक र सामाजिक काममा समय बित्ने दिन छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नुपर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । आज गरिएको परोपकारको कामबाट रोकिएको काम बन्न सक्छ । त्यस्तै छात्रछात्राले पढाइलेखाइमा ध्यान केन्द्रित गर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अपराह्नपछि आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसैत्यसै फुरुङ्ग हुनसक्छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज आर्थिक पक्ष असन्तुलित बन्नसक्ने दिन छ, खर्चबृद्धि हुने समय छ । कुनै महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । कुनै बाध्यात्मक काममा खट्ने परिस्थिति बन्नसक्छ, वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा हुँदैन । नोकरी र सामाजिक क्षेत्रमा आफ्नो साख रहनसक्छ, तर क्रोध, प्रतिशोध र रिसरागले गर्दा अप्ठ्यारामा पर्न सकिन्छ । उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । आज राज्यपक्ष र प्रशासनिक काममा सफलता पाउने दिन हो, तर अनावश्यक मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ, तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनुकूलता मिल्नेछ । व्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ । खटेजति सफलता पाइने योग छ, जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ । समग्रतामा आज बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कर्मप्रति निष्ठा र समर्पणभाव राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । आँटेको काममा सफलता मिल्दै जानेछ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज व्यापार तथा व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यमा पनि समस्या देखिन सक्छन् । घरायसी समस्या र कामधन्दामा केन्द्रित हुनुपर्छ । देशपरदेशमा रहेकाहरूले उन्नति गर्ने समय हो, घरैमा बस्नेले बढी दौडधूप गर्ने परिस्थिति बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज व्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । त्यसैले तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि अशान्ति र अराजकताका समाचार आउन सक्छन् । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । क्रोध र रिसरागमा नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छरछिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । आजबाट छात्रछात्रामा आफ्नो काममा सक्रियता बढ्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज यात्राको सम्भावना छ । व्यापारबाट सामान्यतया लाभ नै मिल्ने समय छ । दाम्पत्यजीवन, आपसी सम्बन्ध र प्रेमजीवनमा देखिएका समस्या हल हुनेछन्, सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले बेलुकीपख मनमा निराशा र विकारको परिस्थिति देखापर्नेछ, घरायसी समस्याहरू देखापर्न सक्छन् । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार