आज वि.सं. २०७६ साल भदौ ०५ गते बिहीबार, तदनुसार ई.सं. २०१९ अगस्ट २२ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पेसा वा नोकरीमा असन्तुष्टि बढ्न सक्छ । कृषिक्षेत्र र श्रममूलक व्यवसायबाट सोचेजस्तो फाइदा लिन सकिने छैन । भोगविलास र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न मन आकर्षित बन्नेछ । दीर्घकालिक काम गर्ने सोच बनाउनु भएको छ भने आज स्थगित राख्नु राम्रो हुन्छ । छिटो समाप्त हुने कामबाट राम्रै फाइदा लिन सकिन्छ । शरीरमा आलस्यता छाउनेछ । त्यसैले आत्मबल बढाएर काम गर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) खर्चमा नियन्त्रण गर्नुहोला । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ, सचेत रहनुहोला । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज स्वास्थ्य सबल छ । पढाइमा प्रगति हुनेछ । शत्रु आफैं पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । प्रशासनिक र राज्यपक्षबाट रोकिएका काम सम्पादन गर्न अनुकूल हुनेछ । परोपकारी र सामाजिक कामबाट प्रसिद्धि कमाउन सकिन्छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग र सुझाव प्राप्त होला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । प्रशस्त आम्दानी हुनेछ, यद्यपि आम्दानी गरिएको धन मनोरञ्जन र खानपानका क्षेत्रमा खर्च हुनसक्छ । दूरगामी भविष्यप्रति लक्षित लगानी गरेमा पछि राम्रो फाइदा आर्जन गर्न सकिने छ । श्रमको समुचित मूल्याङ्कन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नै पाखुरी र बुद्धि खियाएर गरेका जुनसुकै काममा सफलता पाउनु हुनेछ । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । दान पुण्यका कार्यतर्फ मन आकर्षित हुनेछ । टाढाको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखा पर्न सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा समस्या हुनसक्छ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । टाढाको यात्रामा ननिस्कनु राम्रो हुन्छ ।लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शरीरमा आलस्यले डेरा जमाउने समय छ । नियमित खानपानको समयमा फेरबदल हुने सम्भावना छ । मनोरञ्जनात्मक क्रियाकलापमा समय व्यतीत हुनाले बन्दव्यापार प्रभावित हुनसक्छ । भावनाप्रधान दिन भएकाले आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ, घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । प्रेमी प्रेमिका वा पतिपत्नीका बीचमा चिसोपन आउन नदिनु राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रिसराग, आवेग र क्रोधलाई त्यागेर अघि बढ्नु राम्रो हुन्छ ।आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साहमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । व्यवसायिक स्थितिमा सुधार आउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुरुमा मन खिन्न हुनसक्छ, निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । तर आज बौद्धिक क्षेत्रमा चन्द्रमा रहेकाले पठनपाठन र बौद्धिक चिन्तनमननमा घोत्लिने र कडा मिहिनेत गर्ने दिन हो । जे गरेपनि बुद्धि खियाएर अघि बढेमा सफलता आर्जन गर्न सकिने छ । व्यवसायिक क्षेत्रमा दौडधूप गरेजति सफलता प्राप्त हुने छ । भाइबहिनी र छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । मनमा दार्शनिक र आध्यात्मिक भावना उत्पन्न हुनसक्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मानसिक अशान्ति र बेचैनी हुने योग छ, सामान्य कुराले पनि मन पिरोल्नेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर दिनु हुँदैन । भर्खरै चिनजान भएका व्यक्तिले धोका दिन सक्छन् । दाम्पत्य जीवन निरस रहने छ । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिन सक्छ । घरायसी प्रयोजनमा धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) परोपकारी कामबाट प्रशंसा प्राप्त हुनेछ ।स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । आज मुखलाई नियन्त्रण गरेको जाति हुन्छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार