वि.सं. २०७६ श्रावण २९ गते बुधबार तदनुसार ई सं.२०१९ अगस्ट १४ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कर्मक्षेत्रमा रहेको चन्द्रमाका कारण कामधामका क्षेत्रमा विभिन्न अवसर जुट्ने समय छ । तर आज अरूलाई वचन दिएको छ भने त्यसलाई पूरा गर्न निक्कै दौडधूप गर्नुपर्ने दिन छ । कुनै पुरानो समस्या हल गर्न वा घरायसी भौतिक सामाग्रीको मरम्मत सम्भार गर्न ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । नयाँ काममा हात हाल्नुपर्दा जान्नेबुझ्ने वा अनुभवीको राय लिनु राम्रो हुन्छ । विशेष योजना गोप्य राख्नु जायज हुनेछ । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । बन्दव्यापारमा पनि फाइदा नै हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नतिको समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । गृहिणीहरूले धार्मिकरसामाजिक काममा सहभागी हुनुपर्नेछ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा काम गर्ने तथा विद्यार्थीहरूका लागि उन्नति गर्ने समय छ । प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आठौं घरमा रहेको चन्द्रमाका कारण मनमा निराशा र भयको वातावरण सिर्जना गर्ने दिन भए पनि शुभ ग्रहको प्रभाव भएकाले आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजको क्षेत्र वा विदेशमा रहेका आफन्तसँग आत्मीयता बढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमङ्ग पलाउने छ । प्रविधिसँग सम्बद्ध उपकरणमा खराबी आउनाले महत्त्वपूर्ण काममा विघ्न आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ । ज्ञानार्जनका क्षेत्रका व्यक्तिहरू र छात्रछात्राका लागि नयाँ ज्ञान सिक्ने मौका छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ, अनि महत्त्वपूर्ण काम गर्नु छ भने आमा वा घरकी बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गरेमा सफल भइने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज बुद्धिक्षेत्रमा बलियो चन्द्रमाको उपस्थिति छ । त्यसैले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । खासगरी छात्रछात्राका लागि अध्ययनमा प्रगति हुने समय छ, इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । गृहिणीहरूले माइतीपक्षको शुभ समाचार सुन्न पाउने समय आएको छ ।

तुला(र, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनेछन् । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ । विद्यार्थीहरूका लागि पढाइलेखाइमा प्रगति हुनेछ, तर याद गर्नुपर्छ, आज हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । आज सबैले कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्नु छ भने केही समय पर्खंदा वा दोहोर्याएर गरेको राम्रो हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज तेस्रो भाव अर्थात पराक्रम स्थानमा बसेको चन्द्रमाको मिश्रित प्रभाव प्राप्त हुने दिन छ । त्यसैले इष्टमित्र र साथीभाइसँग सन्तुलित व्यवहार गर्नु पर्ने दिन हो, आज । आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठ्यारोमा पर्न सकिन्छ । हाँकेरताकेका काममा परिबन्दले गर्दा सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूको भावना बुझ्न नसक्दा केही अप्ठ्यारोमा पर्न पनि सकिन्छ । सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि तथा पशुपालनमा लागत बढ्नेछ । पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ । तापनि मिहिनेत गर्दा फाइदा नै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दोस्रो भावमा बसेको चन्द्रमाको प्रभाव केही कमजोर देखिन्छ । हुन त धनधान्य वृद्धिका लागि गरिएका प्रयास सफल हुनेछन् । तर आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । सहयोग र उपहारको आशा गरेमा निराश भइने छ । तर इष्टमित्र र परिवारजनको साथ सहयोग गुम्ने छैन । मनपर्ने भौतिक साधन जोड्न धनको बाधा हुनसक्छ । नयाँ काम थाल्न निकै दौडधूप गर्नु पर्नेछ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । कुटुम्ब र इष्टमित्रलाई चित्त बुझाउन गाह्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिने छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । आज आफ्नै राशिमा चन्द्रमाको निवास छ, त्यसैले तपाईंलाई साथ र हिम्मत दिने व्यक्तिहरू प्रशस्तै भेटिनेछन् । कडा मिहिनेत र लगनशीलताको आवश्यकता देखिन सक्छ, तर मनग्ये धन आर्जन हुने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बाह्रौं भावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन्, त्यसैले आँटेकारताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ अथवा घरका बृद्ध सदस्यको भावनाअनुसार कतै तीर्थ वा मन्दिरको भ्रमणमा जान सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । लाभस्थानमा चन्द्रमा रहेकाले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । छात्रछात्राले प्रतिभा तिखार्ने समय आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार