आज वि.सं. २०७६ साल साउन २१ गते मंगलबार, तदनुसार ई. सं. २०१९ अगस्ट ०६ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज व्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बन्धुबान्धव र दाजुभाइका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।आत्मबल बढ्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । माया तथा प्रेमको वातावरण बन्नेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । ठूलाबडाले सहयोग गर्नेछन् । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज झैझगडा र विवादका विषयमा अघि नबढेको राम्रो हुन्छ । दाम्पत्यसुखमा भने राम्रो योग बनेको छ । स्वास्थ्यमा सुधार आउने छ । दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ । घरायसी प्रयोजनको कुनै आवश्यक वस्तुको किनमेल हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज व्यापारमा सोचेको जस्तो फाइदा हुनेछ । आम्दानी बढ्नेछ । पराक्रम र प्रसिद्धि बढाउने समय छ । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोलीवचनमा कडापन त्यागेको राम्रो हुन्छ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज व्यापार तथा व्यवसायका लागि राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । नयाँ कामको अवसर आउनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्दव्यापार खासै फाइदा छैन ।आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । अनावश्यक खर्च बढ्रने छ, नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । कुनै दीर्घकालीन योजना कार्यान्वयन गर्नु छ भने रातीअबेर वा भोलिदेखि मात्र सहज हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । विद्यार्थीहरूले पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । विश्वासको वातावरण बन्नेछ । आत्मबल र निर्णय क्षमतामा बृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज स्वास्थ्य अनुकुल रहनेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार तथा व्यवसायमा सोचेजति लाभ पाइने छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । आफ्नो क्षेत्रमा साख रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) व्यापार तथा व्यवसाय फस्टाउने छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । तर्कवितर्क र प्रतिस्पर्धामा विजयी भइने छ ।आज दान, पुण्यका कार्यमा आकर्षण बढाउनु उपयोगी हुनेछ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । सानो प्रयासले भाग्यबल बृद्धि गर्न सकिने दिन छ । घरपरिवारमा सुमधुर वातावरण सिर्जना हुनेछ । साथीभाइले सकेको सहयोग गर्नेछन् । प्रेमप्रसङ्गका लागि पनि समय अनुकूल छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज हातहतियारको प्रयोग गर्दा, बाटो काट्दा वा सवारीसाधनमा यात्रा गर्दा होस गर्नुहोला । महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुने छैन । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । तपाईंको कडा परिश्रमले बेलुकीसम्म राम्रो परिणाम दिन सक्छ ।साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुनसक्छ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज स्वास्थ्यमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । आम्दानीका दृष्टिले नराम्रो छैन, जे गरे पनि अपराह्नभित्रै गर्नु बेस हुनेछ, साँझ विलासिताका क्षेत्रमा खर्च बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार