वि. सं. २०७६ श्रावण ०६ गते सोमबार तदनुसार ई. सं. २०१९ जुलाई २२ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ र सँगीसाथी तथा छरछिमेकमा पनि विवाद बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कर्म क्षेत्रमा बलियो चन्द्रमा भएकाले विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने दिन छ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आज कर्मसिद्धिको समय हो, जस्तै बाधाअड्चन र विघ्न पनि दूर गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक समस्या हल गर्ने दिन हो । घरबाहिर हुनुहुन्छ भने पनि जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदारसित राम्रो व्यवहार गर्नुहोला । आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । रोकिएका काम ढिलो गरी बन्नेछन्, साँझपख शुभ कुराको सङ्केत मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । प्रेमसम्बन्धमा समेत निरसता छ । बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दासमेत सचेतता अपनाउनु पर्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ र दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । भोजभतेर र रमझममा सहभागी भइने छ । मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । साझेदारीमा फाइदा छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज छैटौं घरमा चन्द्रमा छ, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुर्ख्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । सरकारी कामबाट पनि फाइदा नै छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज कल्पना, भावना र निराशामा रुमल्लिनु पर्ने समय छ । तर बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । अध्ययन, अध्यापन र लेखनकार्यमा आज गरिएको मिहिनेतले पछि काम गर्नसक्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नु हुँदैन । भाइबहिनी र छोराछोरीका समस्यामा पनि समय दिने बेला आएको छ । तिनको उन्नति, प्रगति र शैक्षिक क्षेत्रमा ध्यान दिनु पर्नेछ । दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक धारणालाई समर्थन गर्नेछन् । खानपान र मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर स्वास्थ्यप्रति सचेत हुनुपर्छ

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) चन्द्रमा चौथो घरमा भए पनि राशिस्वामी बृहस्पतिसँग त्रिकोणात्मक सम्बन्ध बनाएकाले आज दिन बलियो भएको छ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन ल्याए पनि प्रणयसम्बन्ध र प्रेमको वातावरण सुदृढ बन्नेछ । सन्तति पक्षको साथसहयोग प्राप्त हुनेछ । दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानीको सम्भावना देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिकरसामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । साथीभाइ र मित्रबाट पनि विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । मेवा, मिष्ठान्न र परिकार मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुने दिन छ । परिवारमा कलह, विवाद र झगडाको वातावरण सिर्जना हुनसक्छ । मित्र र सहयोगीले सहयोग गर्न सक्ने छैनन् । समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मन चञ्चल भए पनि आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । कुनै नयाँ काममा मन जानेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार