काठमाडौँ, १० फागुन । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

सम्बन्धन नै नदिएको एआईबीटी कलेजमा सबैभन्दा बढी विद्यार्थी पठाउने कन्सल्टेन्सीमा एक्सपर्ट रहेको छ । एक्सपर्टबाट मात्रै करिब २ सयको हाराहारीमा विद्यार्थी गएका छन् । त्यसपछि मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत तीन दर्जन कन्सल्टेन्सीबाट ती विद्यार्थी सिड्नीस्थित एआईबीटीमा पढ्न पुगेका हुन् ।

बढी कमिसन आउने लोभमा परेका ती कन्सल्टेन्सीले मनपरी रुपमा विद्यार्थी पठाउँदा समस्या देखिएको हो । अहिले एआईबीटीमा भर्ना गर्ने कन्सल्टेन्सीका अधिकांश सञ्चालकको फोन अफ रहेको छ । गलत क्रियाकलाप गरेका कारण उनीहरु फोन अफ गरी बेपत्तासरह भएका छन् । नेपालमा केही कन्सल्टेन्सीले अस्ट्रेलियामा समेत कन्सल्टेन्सी खोलेर विद्यार्थीबीच चलखेल गर्न यस्तो रणनीति अपनाएको हुन सक्ने आशंका गरिएको छ ।

अस्ट्रेलियामा एक्सपोर्ट, अल्फाबिटा, कंगारुका लोकल कन्सल्टेन्सी सञ्चालित छन् । स्रोतका अनुसार अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को कलेजमा ट्रान्सफर गर्दा मनग्य नाफा हुने भएपछि समस्यामा परेका विद्यार्थीलाई नेपालका कन्सल्टेन्सीको बद्नाम गर्न खोजिएको हो ।अहिले एक्सपोर्टका बद्री अर्याल र सञ्जीव अधिकारी, मर्सीका राम टण्डन, इम्पल्सका सन्दीप अर्याललगायतका कन्सल्टेन्सी सञ्चालक अस्ट्रेलिया पुगेका छन् । कोही समस्यामा परेका विद्यार्थीको उद्धार गर्न त कोही अर्को कलेजमा ट्रान्सफर गर्न अस्ट्रेलिया पुगेको बताइन्छ । केही कन्सल्टेन्सीका सञ्चालक भारतस्थित अस्ट्रेलियन हाइ कमिसन पुगेका छन् । नेपाल समाचारपत्रमा खबर छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार