एजेन्सी, ८ असार । मेक्सिकोमा दोस्रोपटक १९८६ को विश्वकपको आयोजा भएको थियो । उक्त विश्वकप पूर्णरुपमा अर्जेन्टिनाका कप्तान डिएगो म्याराडोनाको नाममा रह्यो । म्याराडोनाको तागतमा अर्जेन्टिना उक्त विश्वकपमा दोस्रोपटक विश्वविजेता बनेको थियो । फाइनलमा अर्जेन्टिनाले वेस्ट जर्मनीलाई ३-२ ले हराएर दोस्रोपटक विश्वकपको उपाधि रक्षा गरेको थियो ।

उक्त विश्वकपमा सधैंजस्तै अर्जेन्टिनी कप्तान म्याराडोनाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन संसारले कहिल्यै भुल्न सक्दैन । उनकै तागतमा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।फाइनलभन्दा पहिला इङ्ल्याण्डको विरुद्ध क्वाटर फाइनलमा म्याराडोनाले दुई गोल गरेका थिए । उनकै गोलको बलमा अर्जेन्टिनाले २-१ ले इङ्ल्याण्डविरुद्ध जित निकालेको थियो । त्यतिबेला उनले गरेको दुई गोलको सधैं चर्चा हुन्छ । उनको गोल विवादित पनि रहँदै आएको छ । अर्जेन्टिनाले १९८६ भन्दा पहिला १९७८ मा पनि आफ्नै आयोजनाको विश्वकप जितेको थियो ।

म्याराडोनाले त्यतिबेला बल हातले लगेर पोष्टमा गोल गरेका थिए तर, रेफ्रीले उक्त दृश्य देख्न सकेनन् र गोलको मान्यता दिए । म्याराडोनाले उक्त कदमलाई भगवानको मर्जी भन्दै ‘ह्याण्ड अफ गड’को नाम दिएका थिए । उक्त गोल आज पनि त्यही नामले चर्चित छ । हातले गोल गरेको चार मिनेटपछि उनले अर्को सुन्दर गोल गरे जसलाई शताब्दीकै गोल अथवा गोल अफ दि सेञ्चुरी भनिन्छ । म्याराडोनाले इङ्लिश गोलकिपरसहित पाँच खेलाडीलाई चक्मा दिएर उक्त गोल गरेका थिए । उनले प्रतियोगितामा कुल ५ गोल गरेका थिए ।

१९८६ मे ३१ देखि २९ जुनसम्म १३औं फिफा विश्वकपको आयोजना मेक्सिकोमा भएको थियो । मेक्सिकोले यस्तो अवसर दोस्रोपटक पाएको थियो । यसअघि उसले १९७० मा पनि विश्वकप आयोजना गर्ने अवसर पाएको थियो । त्यतिबेला मेक्सिको दुईपटक विश्वकप आयोजना गर्ने संसारकै पहिलो देश बनेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार