फागुन २६, काठमाडौं । पार्टी सञ्चालनमा ‘सुस्त’ कार्यशैलीको तीव्र आलोचना भइरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार दुई वर्षदेखि रिक्त पार्टी पदाधिकारी र विभाग गठनका लागि छलफल अघि बढाए । बूढानीलकण्ठस्थित निवासमा निकट नेताहरूसँग छलफल गरिरहँदा उनी पार्टी सभापति चुनिएको शुक्रबार ठ्याक्कै दुई वर्ष पूरा भयो ।

यसअघि पनि धेरैपटक चर्चामा ल्याउने तर काम नगर्ने प्रवृत्ति देखिएको भन्दै धेरैजसो नेता अब पनि उनले पदाधिकारी र विभागलाई पूर्णता दिनेमा विश्वस्त भने छैनन् । ‘यस्तै चर्चा उहाँलेसभापति निर्वाचित भएदेखि नै गर्दै आउनुभएको हो,’ देउवा पक्षीय एक नेता भन्छन्, ‘पार्टी सञ्चालन शैलीलाई लिएर चौतर्फी आलोचना बढेपछि फेरि यही कुरा दोहोर्याउनुभएको छ, जुन विश्वास गर्न गाह्रो छ ।’

देउवाले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखमा समेत पार्टीलाई सांगठनिक रूपमा मजबुत बनाउने महत्त्वपूर्ण निकाय विभाग गठन गरेनन् । मनोनीत गर्नुपर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्री पद अझै खाली छन् ।

पार्टी विधानअनुसार उपसभापतिले नीति निर्माणको नेतृत्व गर्छ । उपसभापति हुने नेता केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने व्यवस्था छ । महामन्त्रीले पार्टी संगठनको नेतृत्व गर्छभने सहमहामन्त्रीले महामन्त्रीको काममासहयोग पुर्याउँछ ।

उपसभापतिका लागि पार्टीभित्र विजय गच्छदार र विमलेन्द्र निधिको दाबी छ । महासमिति बैठकअघि नै पदाधिकारी मनोनयन गरेको खण्डमा भने निधि नै उपसभापति बन्ने करिब निश्चित छ । महामन्त्रीका लागि पूर्णबहादुर खडका, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत र बालकृष्ण खाँडको दाबी छ ।सहमहामन्त्रीमा देउवाले मानबहादुर विश्वकर्माको नाम चर्चामा ल्याएका छन् ।

पार्टीमा ४२ विभाग छन् । यी सबै विभाग गठन हुँदा झन्डै ९ सय नेता तथा कार्यकर्ताले भूमिका पाउँछन् । एउटा विभागमा २० सदस्यसम्म राख्ने व्यवस्था छ । संविधान जारी भएसँगै मुलुक संघीय संरचनामा प्रवेश गरे पनि कांग्रेसको संगठन अझै पुरानै ढाँचामा छ ।

तत्कालीन अञ्चल समन्वय समितिको ठाउँमा ‘प्रदेश’ राखिएबाहेक विधानमा नयाँ व्यवस्था गरिएको छैन । नयाँ संविधान घोषणापछि प्रदेशभित्रका महाधिवेशन प्रतिनिधिको अधिवेशन गर्नुपर्ने विधानमा उल्लेख छ । तर, देउवाले दुई वर्ष बित्दा पनि प्रदेश अधिवेशनको सुरसार गरेका छैनन्, कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार