साउन २२, काठमाडौं । युवाशक्ति राष्ट्रका अनमोल सम्पत्ति हुन् । परिवर्तनको वाहक शक्तिका साथै आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका अग्रणी शक्ति हुन्। युवा भन्नेबित्तिकै हामीले साहसी नयाँपन निर्माणकर्ता, सृजनशीलता र लगनशीलताको माध्यम हुन् भन्ने बुझ्न जरुरी छ ।

युवा एउटा यस्तो शक्ति हो, जसलाई समग्रमा समेटेर परिचालन गर्न सकियो भने यसले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । साहस सृजनशीलता एवं उच्च आत्मविश्वास र निडर क्षमताको कारण यो वर्ग हरेक राष्ट्रको प्रमुख धरोहरको रुपमा मानिनुको साथै राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मानिने गरेको छ ।

युवावर्गमा नयाँ जोश र जाँगरसहितको जवानी हुन्छ, प्रतिभा र अठोटको खानी हुन्छ, तातो र रातो रगतको परानी हुन्छ । कुनै पनि खोलनाला र नदीहरुमा खेर गइहेको पानीमा बाँध बाँधेर विध्दुत निकाले झैँ राष्ट्रमा खेर गइरहेको यो युवा शक्तिलाई संगठित पारि राष्ट्रिय विकासको अभियानमा समाहित गराउन सकेमा वास्तविक रूपमा मुलुकले काँचुली फेर्न समय लाग्दैन ।

समृद्धिका लागि राजनीतिमा युवाः
विकासको मार्गमा बामे सर्दै गरेको हाम्रो जस्तो देशको राजनीतिमा युवाको सक्रिय सहभागिता अपरिहार्य छ । अहिले राजनीतिलाई आर्थिक एजेन्डासँग जोड्नुपर्ने वेला हो, जसका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य हुन्छ । विकास गर्ने युवाले नै हो । भाषण र व्यवस्था परिवर्तनका लागि धेरै आन्दोलन भए, गरिए । यसर्थ, अब समृद्धिका लागि आन्दोलन हुनुपर्छ ।

हाम्रो देशमा ४० प्रतिशत युवा जनसंख्या छ । यो जनशक्ति कुनै पनि देशका लागि ‘बोनस’ शक्ति हो, जुन अरू देशमा छैन । यो शक्तिलाई सदुपयोग गरेर देशलाई समृद्ध बनाउन सक्ने प्रबल सम्भावना हामीसामु छ । हाम्रा युवाले अन्य मुलुक, विशेषतः खाडी मुलुकको समृद्धिमा निकै ठूलो योगदान दिएका छन् । तर, हामीले आफ्नै देशको विकासका लागि भने युवालाई सहभागी बनाउन सकेका छैनौँ । अब युवाशक्तिलाई देशभित्रै सदुपयोग गरी देशलाई विकसित बनाउने वातावरण निर्माण गर्नुपर्छ ।

राजनीतिमा युवा नेतृत्वका तगाराः
राजनीतिमा युवा नेतृत्व विकासमा तगारा युवालाई प्रतिपक्षको भूमिकामा बुझ्ने मनोविज्ञान हो । राजनीतिक नेतृत्वले युवालाई आन्दोलन, संघर्ष, लडाइँ, विरोध र आलोचनाको वाहकका रूपमा बुझ्ने र स्वयम् युवाले पनि आन्दोलन, लडाइँ, संघर्ष र विरोधमा देखाउने साहस र विवेकको स्तरलाई राजनीतिक नेतृत्व र नीति निर्माणको नेतृत्व गर्ने प्रक्रियामा कायम गर्न नसक्नुले यसलाई पुष्टि गर्छ । जसले गर्दा सत्ताधारीले युवा हुन्, आन्दोलन गर्छन्, रोक्छन् अनि फेरि गर्छन्’ भन्ने मनोविज्ञान र आन्दोलनको समयमा बढी उत्साहित तथा अनावश्यक उत्तेजित हुने युवाको मनोविज्ञान नीति निर्माण र राजनीतिक नेतृत्वको हरेक तहमा नीतिगत हस्तक्षेपसहितको सहभागिता जनाउने प्रक्रियामा कमी हुनुले पनि राजनीतिक नेतृत्वमा युवाको अपेक्षित प्रगति हुन सकिराखेको छैन ।

युवालाई राज्य र दलहरुले अस्वीकार र तिरस्कार गर्दा मुलुक परिवर्तनको बाटोमा लम्कन सक्दैन । युवालाई राज्य, दल र सम्बन्धित क्षेत्रमा उल्लेख्यरुपमा सहभागी गराएर जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व गराउने प्रत्याभूति गरिनुपर्छ र नीति निर्माणमा जोडदार कार्यान्वयन गर्नपट्टि लाग्नुपर्छ । अब नेपालीले अर्काको गल्ती देखाएर, आरोप लगाएर मख्ख पर्ने नेताभन्दा समस्याको सही पहिचान गरी समाधानको उपाय खोजी गर्ने सही राजनीतिक दृष्टिकोण भएको राजनेताको खाँचो महसुस गरिरहेका छन् । यो खाँचो अब युवानेता तथा नेतृहरूले पूरा गर्नुपर्छ ।

भौतिक सुख, व्यक्तिगत स्वार्थ र संकुचित विचारलाई त्यागी समस्यै समस्यामा गुजुल्टिएको नेपाललाई मेसो मिलाएर फुकाल्ने जिम्मा युवा पुस्ताको काँधमा आएको छ । यो आवश्यकता पुरा गर्न युवा पुस्ताका नेताहरूले बुझेर अघि बढ्नु जरुरी छ ।-उमेश खनाल
(खनाल नेकपा एमाले निकट युवा हुन् )

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार