फागुन २९, काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला एयरको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

प्राप्त पछिल्लो विवरणअनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । विमानमा चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सोमबार युएस बंगला विमान दुर्घटना भई त्यसमा सवार यात्रुको दुःखद निधन भएकामा गहिरो समवेदना प्रकट गरेको छ ।मन्त्रालयले मृतकका परिवार र आफन्तजनमा समवेदना प्रकट गर्दै घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

शव परीक्षणपछि परिवार तथा आफन्तजनलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले घटनाको खोज तथा उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका निकाय, खोज उद्धार टोलीसहित अग्निनियन्त्रक संस्था, एम्बुलेन्स, अस्पताललाई मानवीय सेवा पु¥याएको भन्दै धन्यवाद व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार