फागुन २९, काठमाडौं । ‘म एकजना साथीसँग यात्रा गरिरहेको थिएँ । विमान ओर्लनै लाग्दा देब्रेतिर मोडिन थाल्यो । मानिसहरू चिच्याउन थाले । हामीले पछिल्तिर हेर्दा विमानमा आगो लागेको थियो,’ बंगलादेशी नागरिक शाहरीन अहमद भन्छिन् । उनी विमान दुर्घटनामा बाँचेका एक भाग्यमानी यात्रु हुन् ।

शाहरीनलाई अहिले काठमाडौं मेडिकल कलेजमा आगोले डढेको उपचार चलिरहेको छ ।‘मेरो साथीले मलाई उसभन्दा अगाडि दौडन भन्यो । तर हामी दौडिरहँदा उसलाई आगोले समात्यो । ऊ लड्यो । मानिसहरू डढिरहेका, चिच्याइरहेका अनि लडिरहेका थिए । तीनजना त बलिरहेको विमानबाट हाम्फाले । डरलाग्दो दृश्य थियो । सौभाग्यवश कसैले मलाई तान्यो र म सुरक्षित भएँ,’ शाहरीनले भनिन् ।

शाहरीन एक शिक्षक हुन् र उनले काठमाडौं तथा पोखरा घुम्ने योजना बनाएकी थिइन् ।

‘उनको दाहिने गोडामा लिस्फ्रांक चोट छ । हामीले गोडालाई कास्टमा हालेका छन् । उनको सुन्निएको गोडा ठकि भएपछि शल्यक्रिया गर्नेछौं । उनको ढाडमा पनि १८ प्रतिशत भाग जलेको छ,’ अस्पतालका अर्थोरेजिडेन्ट डा नाजिर खानले भने ।

अर्का बंगलादेशी नागरिक मेहदी हसन पहिलोचोटि हवाईयात्रा गरिरहेका थिए । उनकी श्रीमती, दाइ र छोरी पनि विमानमा थिए ।

‘मेरो सीट पछिल्तिर थियो । मैले आगो लागेको देखेपछि परिवारलाई खोज्न थालें । हामीले झ्याल फुटाउन खोज्यौं तर सकेनौं । हामीहरू कसैले हाम्रो उद्धार गरिदेला भनी कुरिबस्यौं । मेरी श्रीमतीको र मेरो उद्धार भयो तर मेरो दाइ र उसकी छोरी अझै हराइरहेका छन्,’ उनले बताइन् ।-लोकान्तरबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार