फागुन २९, काठमाडौं । सडक यात्राको तुलनामा हवाइयात्रा धेरै नै सुरक्षित, विश्वासिलो र भरपर्दो मानिन्छ ।

त्यति मात्रै होइन निर्धारित समयमा गन्तव्यमा पुगिने र समय व्यवस्थापनको लागि उपयोगी मानिएको हवाइ यातायात नेपालमा भने असुरक्षित, ढिलासुस्ती र अत्यन्तै महंगो पर्दै आएको छ ।

सोमबार अपरान्ह १२ः३५ बजेको समयमा काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न पाँच वटा अन्तराष्ट्रिय उडानका ठूला जहाज आकाशमै होल्ड भइरहेका थिए ।

सो मसयमा बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान करिब ४५ मिनेट देखि बारा, मकवानपुर माथिको आकाशमा फन्को मार्दै थियो ।

काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा सधैँ हुने जामका कारण विमान बंगलादेशको जहाज जस्तै दिल्ली काठमाडौं उडानमा रहेको नेपाल एयरलाइन्सको लुम्बिनी जहाज पनि काठमाडौंमा अवतरण गर्ने प्रतिक्षामा बारा मकवानपुर माथिको आकाशमा तीन फन्का मारिसकेको छ ।

त्यस्तै मालिन्दो एयरलाइन्स, थाई एयरवेज र जेट एयरवेजका जहाज पनि काठमाडौं छिर्न आकाशमै फन्को मार्न बाध्य छन् ।

पाँच वटा जहाज एउटै बिन्दुलाई आधार मानेर फन्को मार्न थालेपछि शायद असुरक्षित महसुस गरेर होला, नेपाल एयरलाइन्सको जहाजका क्याप्टेनले होल्ड एरिया परिवर्तन गर्दै बारा पर्साको आकाशमाथि पुगेर सर्कल लगाइरहेका थिए ।

काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थल एयर ट्राफिक कन्ट्रोलले बारा मकवानपुरको आकाशमाथि एकै बिन्दुलाई आधार मानेर पाँच वटासम्म जहाज उचाई तलमाथि गराएर होल्ड गराउने गरेको छ ।

हालसम्म कुनै अप्रिय घटना भएको छैन, यो सुखद विषय भए पनि यसरी एउटै बिन्दुमा तलमाथि गरेर आकाशमा जहाज होल्ड गराउँदा कुनै एउटा जहाजमा समस्या आएमा अन्य जहाजलाई समेत असर गर्नसक्ने र त्यसबाट कुनै अप्रिय घटना भएमा ठूलो भौतिक र मानवीय क्षति हुने विज्ञहरु बताउँछन् ।

ती पाँच जहाजका बीचमा करिब एक हजार पाँच सय देखि दुई हजार फिटको तलमाथि थियो ।अन्तराष्ट्रिय उडानमा रहेको ठूला जहाज खराब मौसम, तीव्र हावाका कारण एक हजार फिटसम्म जम्प गरेका उदहारणहरु छन् ।

नेपालजस्तो उच्च पहाडले भरिएको स्थानमा यस्तो खतरा बढि हुने गर्दछ । यसअघि नेपाल एयरलाइन्सकै जहाज धादिङ माथिको मध्य आकाशमा एक हजार फिट तल जम्प गरेपछि छानविन टोली नै बनाएर अनुसन्धान गरिएको छ ।

काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलमा दैनिक दर्जनभन्दा बढि अवतरण आकाशमै होल्ड हुने गरेको छ ।एकतर्फी र सानो धावनमार्गका कारण काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थल अत्यन्तै साँघुरिँदै गएको छ ।

त्यसमाथि आन्तरिक जहाजको चाप, अन्तराष्ट्रिय उडानमा रहेका जहाजको पार्किङस्थलको अभावका कारण अवतरणको क्रममा रहेको जहाज सधैँ आकाशमै फन्को मार्न बाध्य छन् । आजको दृष्टि साप्ताहिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार